सप्तरी । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले पार्टीको नियमित महाधिवेशन प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले कांग्रेसको इतिहास, विचार र विरासत बोकेका नेताहरूलाई पन्छाएर स्वघोषणाका आधारमा कसैले पार्टीको आधिकारिकताको दाबी गर्न नसक्ने बताए ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशनको तयारी थालेको छ। सोही अन्तर्गत सप्तरी जिल्ला अधिवेशन उद्घाटनका लागि पुगेका महतले थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको वास्तविक पहिचान र आधिकारिकता इतिहास, विचार तथा पार्टी निर्माणमा पुर्याएको योगदानबाट स्थापित हुने धारणा राखेका हुन् । केही दिनअघि पार्टी छाडेर अर्को पार्टीमा लागेका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने सभापति थापाको अभिव्यक्तिलाई लक्षित गर्दै उनले कांग्रेस निर्माणमा योगदान दिएका नेताहरू नै पार्टीबाट बाहिरिनुपर्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरे । ‘नेपाली कांग्रेस जसले निर्माण गर्यो, उसको नहुने, अनि कांग्रेस र प्रजातन्त्र कमजोर बनाउन कसैको नियोजित पात्र बन्छ, उसको कसरी हुन सक्छ ?’ महतले प्रश्न गरे ।
उनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत आफूहरूसँग रहेको दाबी गरे। १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित बीपी पुत्र डा.शशांक कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिजस्ता वरिष्ठ नेताहरू पनि आफूहरूसँगै रहेको उल्लेख गर्दै महतले यही समूह आधिकारिक कांग्रेस भएको जिकिर गरे ।
महतले थापा पक्षलाई पार्टीको विधि र विधानले मान्यता नदिएको प्रक्रियाबाट नेतृत्वमा पुगेको भन्दै स्वघोषणाका आधारमा आधिकारिकताको दाबी गर्न नमिल्ने बताए। उनले कांग्रेसको इतिहास र विरासतबारे स्पष्ट हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै यस्ता विषयमा भ्रमित नहुनसमेत अपिल गरे । त्यस्तै, कांग्रेसको विचार, नीति र सिद्धान्तप्रति प्रतिबद्ध नेता तथा कार्यकर्तालाई सेवा–सुविधा कटौती वा कारबाहीको डर देखाएर आफ्नो अडानबाट विचलित गराउन नसकिने उनको भनाइ थियो । ‘कांग्रेसको विचारमा लागेका नेता–कार्यकर्तालाई म भन्न चाहन्छु, हामी नीति, विचार र निष्ठा त्यागेर नियमित तलब र आयआर्जनका लागि राजनीतिमा लागेका होइनौँ,’ महतले भने, ‘लोकतन्त्र र विधिका लागि हाम्रा अग्रजहरूले प्राण आहुति दिनसमेत तयार भएर काम गर्नुभयो । हामी पनि त्यही बाटोमा छौँ । त्यसैले तपाईं–हामी सेवा–सुविधा काटिन्छ कि भनेर डराउनुपर्ने अवस्था छैन।’















प्रतिक्रिया दिनुहोस्