काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावबारे नियामक तथा सम्बन्धित निकायहरूलाई औपचारिक रूपमा जानकारी गराएको छ ।
कम्पनीले चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने उद्देश्यसहित हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाउन लागेको जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र कम्पनी रजिस्ट्रारको कार्यालयलाई गराएको हो । कम्पनीको आज (मंसिर ११) बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गर्ने जानकारी सम्बन्धित निकायहरूलाई पठाएको हो । कम्पनीले पठाएको पत्रमा नेपाल सरकारको हाल कायम शेयर स्वामित्व ४४.०३९ प्रतिशत नघट्ने गरी हकप्रद शेयर जारी गरेर चुक्ता पुँजी वृद्धि गर्न लागिएको उल्लेख छ ।
कम्पनीका अनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारका तर्फबाट शेयर लगानीका लागि एक अर्ब रुपैयाँ प्राप्त हुने सम्बन्धमा आएको पत्रका आधारमा १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि बढाइएको हो । सरकारको शेयर स्वामित्व कायम राख्दै कम्पनीको पुँजी विस्तार गर्ने उद्देश्यले उक्त प्रस्ताव तयार पारिएको पत्रमा उल्लेख छ । यसअघि नेपाल सरकारको शेयर स्वामित्व नघट्ने गरी हकप्रद शेयरमा लगानी गर्न मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई सहमति दिएको थियो । सोहीअनुसार सरकारले चालु आर्थिक वर्षमा कम्पनीमा एक अर्ब रुपैयाँ लगानी गर्ने भएपछि हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाइएको हो ।
हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनमार्फत पुँजी वृद्धि गरी चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।
हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव पारित गराउने प्रयोजनका लागि कम्पनीले आगामी पुस ६ गते दशौं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि मंसिर २४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णयसमेत गरेको छ । यसअनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई नियमानुसार शेयर नामसारी भएका शेयरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन् ।















प्रतिक्रिया दिनुहोस्