images
images

राष्ट्रपतिसँग बेलायती राजकुमारले भने –ब्रिटिस गोर्खा सेना नेपाल बेलायतबीचको सम्बन्धमा कोशेढुंगा

images
images
images

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बेलायती राजकुमार एडवार्ड र श्रीमती सोफियासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

६ दिने भ्रमणका लागि मंगलबार बिहान नेपाल आइपुगेका उनीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतनिवासस्थित राष्ट्रपति कार्यालय पुगेका थिए । भेटमा दुई देशबीच भएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन् । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

images
images

पौडेलको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विषय उठान गरेको जानकारी दिए ।
‘जलवायु परिवर्तन अहिले विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ’ पौडेलको भनाई । यस्तै, पौडेलले नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको जानकारी दिएका छन् । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गईरहेको छ । भेटमा राष्ट्रपतिले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण पनि गरे ।

‘नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रही आएको छ, महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पुर्‍याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु’, राष्ट्रपति पौडेलले भने । सो अवसरमा एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनिकरणमा नेपालले गरेको प्रयासका बारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवतर्नले कस्तो असर पारेको छ भनेर जान्न बुझ्न पाउने पनि उनको विश्वास छ ।

बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै राजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तिकरणको विषय सान्दर्भिक हुने बताए । एडवार्डले ब्रिटिस सेनामा नेपालले भर्तीका लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सेना कोशेढुंगा रहेको उल्लेख गरे ।

सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे । राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै ‘ब्रिटिस–गोर्खा’ हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी भएको बताए । ‘ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।’

images
images

प्रतिक्रिया दिनुहोस्