Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बजेट अभावमा गैँडा गणना अन्योलमा

बजेट अभावमा गैँडा गणना अन्योलमा
विज्ञापन
Advertisement

चितवन । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् । विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआईडीको जल जङ्गल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो । परियोजनाले सूचना जारी गरी सामग्रीहरु खरिद प्रक्रिया समेत अघि बढाइसकेको थियो ।

निकुञ्जभित्र गणनाका क्रममा आवश्यक जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरु, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको खर्च सोही परियोजनाले बेहोर्ने भएको थियो । ‘परियोजनाले रुण् ५० लाख बराबरको सामग्री दिने तयारी थियो । गणना सम्पन्न गर्न रु एक करोड ५० लाख हाराहारी बजेट खर्च हुने अनुमान गरिएको छ’, उनले भने ।

जलजङ्गलसँगै विश्व वन्यजन्तु कोष नेपाल, जेडएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका सङ्घ संस्थासँगको साझेदारीमा गणना गर्ने तयारी गरिएको थियो । उनका अनुसार आगामी चैतभित्रमा गणना गरिसक्नुपर्ने हुन्छ । चैत ५ गतेदेखि २५ गतेसम्म गणना गरेर वैशाखको पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो । उनले भने ‘चैत महिना कटेपछि गणना गर्न सकिंदैन । कम्तीमा १० दिन पूर्वतयारी गर्नुपर्छ ।’ अन्तिम समयमा आएर दातृ निकायको कार्यक्रम अन्योलमा परेपछि विभागको गणना कार्यक्रम प्रभावित हुने देखिएको उनले बताए ।

विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले दाताको सहयोगको अन्योलताले अन्तिम तयारीका बेला गणना प्रभावित बनेको बताए । यस विषयमा मन्त्रालयमा छलफल गरेर बजेट प्राप्त हुन सकेमा काम हुने अन्यथा स्थगन गर्न बाध्य हुने उनको भनाइ छ । आउँदो वर्ष बाघ गणना गर्नुपर्ने हुन्छ । दुवै कार्य एकै पटक सम्भव नहुने भएकाले यस वर्ष गैँडा गणना गर्न सकेमा अर्को वर्ष बाघ गणना गर्न सहज हुने उनको भनाइ छ ।

गैँडाको अनुगमन भइरहेको भएपनि यकिन तथ्याङ्क र अवस्था पत्ता लगाउन गणना गर्ने गरिन्छ । सन् २०२१ मा गैँडा गणना गरिएको थियो । गणनासँगै कुन क्षेत्रमा कति गैँडा छन् यकिन हुने र व्यवस्थापनमा सहज हुन्छ । चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा छन् । तीमध्ये सबैभन्दा बढी चितवनमा छन् । सन् २०२१ को गणना अनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ ।

नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०, सन् १९९० मा ३५८, सन् १९९५ मा गैँडा ४६६ रहेको विभागको तथ्याङ्क छ । यसैगरी सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ पुगेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit