Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कसरी बन्यो ‘अञ्जिला’?

कसरी बन्यो ‘अञ्जिला’?
विज्ञापन
Advertisement

काठमाडौं ।  महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा खेल प्रेमिका लागि निकै परिचित हो । युरोपको एउटा व्यावसायिक क्लबबाट समेत खेल खेलिरहेकी कप्तान सुब्बाले आफ्नै जीवनीमा तयार भएको चलचित्र ‘अञ्जिला’ मा अभिनय समेत गरेकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

फुटबलप्रतिको मोह, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दासम्मको कथा रहेको चलचित्रमा उनी आफैँले अभिनय गर्नु दुर्लभ संयोग हो । नेपालमा खेलकुदसँग जोडिएको वा खेलाडीको विषयमा कमै चलचित्र निर्माण भए पनि विश्वमा धेरै चलचित्र बनेका छन् । यद्यपि आफ्नो भूमिकालाई आफैँ निर्वाह गर्नु दुर्लभ मानिन्छ । यसका लागि पहिले कप्तान सुब्बा पनि तयार थिइनन्, किनकी खेल तालिकाबाट समय मिलाउनुपर्ने र अभिनय गर्नुपर्ने थियो ।

सानैदेखि फुटबल मात्र रुझान देखाउने कप्तान सुब्बालाई आफ्नो कथाले अरूलाई प्रेरणा दिन सक्छ र आफू बाहेक अन्यले भूमिका निर्वाह गर्दा खेलाडी झैँ देखिन कठिन हुन्छ भन्ने लागेपछि चलचित्रमा अभिनय आफैँ अभिनय गर्न उनी तयार भइन्।

“मैले झन्डै डेढ वर्ष कुराएर खालिरहेको एक महिना समय दिएकी थिए । मेरो लागि अभिनय नयाँ थियो, तर मेरै कथा भएकाले यसमा अभिनय मात्र निकै कम गर्न पर्थ्यो सोही कारण मैले चलचित्र गर्ने निर्णय लिएकी थिए । यसका लागि मलाई सबैले सहयोग गर्नुभयो”, कप्तान सुब्बाले भनिन् ।

चलचित्रमा उनको बाल्यकाल, तेह्र वर्षसम्मको भूमिका अन्य कलाकारले निर्वाह गरेका छन् । त्यसपछि देखाइएका अधिकांश दृश्य उनले फुटबल खेलेको देखाइएको छ ।

उनले पर्दामा देखिने समय लगभग पच्चीस प्रतिशत मात्र छ ।
फुटबल खेलाडी र त्यसमा पनि गोलरक्षक बन्नुसँगै अभिनय पनि उनको लागि संयोग भयो । चलचित्रको कथा तयार गर्ने क्रममा कप्तान सुब्बाले अभिनयमा त्यति धेरै चासो नदिएको निर्माता श्रेष्ठले बताए ।

“उहाँको स्वभावले नै होला, अभिनयमा मन गर्नुभएको थिएन । तर, हामीले उहाँसँग चलचित्रमा देखिने कलाकारसँग सामिप्यता बढाउनुका साथै चलचित्रको छायाङ्कन पनि देखायौंँ । दृश्य पूरा गर्न गरिने ‘रिटेक’ देखाएपछि, दिग्गज कलाकारले काम गर्ने शैलीसँग अवगत गराएपछि कप्तान सुब्बाले आफ्नो भूमिका आफैँ निर्वाह गर्न तयार हुनुभयो”, निर्माता श्रेष्ठले भने ।

श्रेष्ठले खेलाडी सुब्बालाई तेह्र वर्षकै उमेरमा पूर्वाञ्चलको टोलीबाट राष्ट्रिय प्रतियोगिता खेल्न धनगढी पुग्दा भेटेका थिए । त्यहाँ नियमित गोलरक्षक अनुपस्थित भएपछि खेलाडी सुब्बाले अवसर पाइन । तेह्र वर्षमै उनमा देखिएको कौशलताले उपस्थित सबैको मन जित्यो । तात्कालीन समयमा विभागीय टोली सशस्त्र प्रहरी बलका व्यवस्थापक रहेका निर्माता श्रेष्ठले खेलाडी सुब्बाको बारेमा बुझ्न तात्कालीन कोच नरबहादुर राईलाई जिम्मा दिएको सुनाए ।

कोच राई विविध कारणले जागिर छोडेर विदेशिए पछि श्रेष्ठलाई खेलाडी सुब्बासम्म पुग्ने बाटो नै रोकियो । यद्यपि त्यसको केही समयपछि विभागीय टोलीमा गोलरक्षक चाहिएपछि व्यवस्थापक श्रेष्ठले खोजी पुनः सुरू गरे ।

मोरङ फुटबल सङ्घका तात्कालिक अध्यक्ष दीपेन्द्र धिमालमार्फत सम्पर्क भएपछि उनले खेलाडी सुब्बालाई काठमाडौं ल्याएका थिए। “मलाई धिमालजीले खेलाडी सुब्बाको खेलकुदप्रतिको रूचि, शिक्षाको अवस्था र परिवारको आर्थिक अवस्थाबारे जानकारी गाएपछि पढाउने, खेलाउनु र निरीक्षण गर्ने जिम्मा लिएर काठमाडौं ल्याए । त्यसपछि उहाँ आफ्नै क्षमताले अहिलेसम्मको यात्रा तय गर्नुभयो । उहाँलाई तेह्रवर्षदेखि नै देखेकाले सङ्घर्ष र सफलतालाई जोडेर चलचित्र बन्नुपर्छ भन्ने लागेर अञ्जिला बनाएका हौँ”, निर्माता श्रेष्ठले भने।

विभागीय टोली सशस्त्र प्रहरी बलमार्फत खेल्न सुरू गरेकी खेलाडी सुब्बाले सन् २०१४ मा श्रीलङ्कामा आयोजना भएको ‘एएफसी यू–१४’ क्षेत्रीय प्रतियोगिताका लागि छनोट हुनुका साथै कप्तानी गरेर नेपालमा महिला फुटबलमा पहिलो आधिकारिक उपाधि जिताउन सफल भइन् । कुनै गोल नखाई पाएको उपलब्धिका कारण खेलाडी सुब्बाले सन् २०१६ को पाकिस्तानमा भएको १२ औँ सागमा श्रीलङ्काविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा गोलरक्षकको रूपमा खेल्दै आइरहेकी छन् ।

दुई वर्षदेखि राष्ट्रिय टोलीको नेतृत्व पाएकी कप्तान सुब्बाले चलचित्रले आफ्नो बारेमा बुझ्न मद्दत गर्ने बताइन । “मेरो सफलता पछाडि सङ्घर्षलाई चलचित्रले चित्रण गरेको छ । हामी जे जस्तो भए पनि दृढ सङ्कल्पका साथ इमान्दार भएर मेहनत गर्ने हो भने लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा चलचित्रले दिन्छ जस्तो लाग्छ । साथै नेपाली खेल र खेलाडीको विषयमा चलचित्र बन्न सुरू हुने मेरा लागि सुखद खबर हो, आगामी दिनमा अन्य खेलाडीको कथा चलचित्रमा हेर्न पाइनेमा विश्वत छु”, कप्तान सुब्बाले भनिन् ।

निर्माता श्रेष्ठले यही समय उपयुक्त लागेर चलचित्र निर्माण गरेको बताए । उनका अनुसार केही समय पर्खिंदा कप्तान सुब्बालाई अभिनय गराउन असहज हुन्थ्यो । सशस्त्र प्रहरी बलमा सत्ताइस वर्ष सात महिना सेवा गर्दा डिएसपीसम्म भएका श्रेष्ठले विभागीय टोलीमा बीस वर्ष काम गरे । खेलकुदसँग जोडिएको चलचित्र हेर्न रूचाउने श्रेष्ठले अन्ततः कप्तानकै विषयमा चलचित्र निर्माण गरे ।

“खेलाडीको विषय चलचित्रमा आए धेरै दर्शकसम्म पुग्छ । यसले खेलप्रति दर्शको आकर्षण पनि बढ्छ भन्ने लागेको छ । साथै, हामीले एञ्जिलाको आफ्नै घर भन्ने अभियान पनि सुरू गरेका छौँ । यस चलचित्रमार्फत आएको सम्पूर्ण मुनाफा उहाँको घर निर्माणमा प्रयोग गरिनेछ । हामीले नेपालमा सार्वजनिक प्रदर्शन अगाडि हङकङ र बेलायतमा गरेको विदेश प्रदर्शनीबाट कप्तान सुब्बाले सहयोग प्राप्त गरिसक्नुभएको छ”, निर्माता श्रेष्ठले भने ।

‘अञ्जिला’ अगाडि आँखाको ज्योति गुमाउनु भएकी सृष्टी केसीको जीवनी आधारित ‘ब्लाइन्ड रक्स’ र उमेश थापा र कविता गुरूङको जीवनीमा आधारित ‘बबी’ निर्देशन गरिसक्नुभएका निर्देशक मिलन चाम्सले तेस्रो पटक ‘वायोपिक’ चलचित्र तयार पारेका हुन । उनले चलचित्र ९० प्रतिशत कप्तान सुब्बाको जीवनी देखाइएको बताए ।

“चलचित्र भएकाले हामीले त्यही शैलीमा निर्माण गर्न केही दृश्यलाई फरक तरिकाले छायाङ्कन गरेका छौँ, तर त्यसले मूल कथालाई प्रभाव पारेको छैन । यसमा खेल मात्र नभइ कप्तान सुब्बाको जीवनी देखाएइको छ । उहाँको बाल्यकालदेखि कप्तान बन्दासम्मको यात्रा चलचित्रमा छ”, निर्देशक चाम्सले सुनाए । चलचित्रमा कप्तान सुब्बासँगै अभिनेता दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरूङ, वुद्धि तामाङ लगायतको अभिनय गर्नुभएको छ ।

महिला खेलाडीको विषयमा चलचित्र बन्नु र त्यसमा आफू अभिनेताको रूपमा जोडिन पाउनु आफ्ना लागि अवसर रहेको अभिनेता राई बताउछन् । “म हरेक खेलकुद हेर्छु, आफूले सक्दो प्रवर्द्धन पनि गरिरहेको हुन्छु । महिला फुटबलले पाइरहेको सफलता र भविष्य निकै राम्रो छ । यस्तै बेलामा कप्तानको जीवनीमा चलचित्र बन्नु खेल प्रेमिका हिसाबले खुसीको खबर थियो । त्योसँगै अभिनय नै गर्न प्रस्ताव आएपछि पटकथा नसुन्दै अभिनय गर्ने सहमति दिएको थिएँ । किनकि यो अवसर एउटा अभिनेता र खेल प्रेमिका हिसाबले गुमाउनु हुन्थेन् ।”

कप्तान सुब्बाको आउँदो समयमा खेलाडीको विषयमा चलचित्र बन्नका लागि ‘एञ्जिला’ को सफलताले ठूलो प्रभाव पार्ने बुझाइ छ । उनले अन्य निर्माता, निर्देशकलाई खेलको विषयमा आकर्षित गर्न पनि व्यावसायिक रूपमा चलचित्रको सफलता अनिवार्य रहेको उल्लेख गरे।

“खेलकुदको विषयमा चलचित्र बन्नु आफैँमा नयाँ कार्य हो । अहिले खेलले पाइरहेको माया देख्दा आगामी दिनमा अन्य खेलाडी वा खेलकुदको विषयमा चलचित्र बन्छ जस्तो लागेको छ । तर, धेरैले व्यावसायिक नतिजा कसको आउला भनेर कुर्नुभएको छ, म पनि त्यसकै पर्खाइमा छु”, कप्तान सुब्बाले भनिन् ।

चलचित्र होलीको अवसर पारेर आउँदो फागुन २९ देखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने निर्माण पक्षले जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit