एजेन्सी । चीन, दक्षिण कोरिया र जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका नयाँ करहरूको सामना गर्न आइतबार स्वतन्त्र व्यापार सुदृढ गर्न सहमत भएका छन् ।
यो सहमति कार, ट्रक र अटो पार्ट्ससहितका सामग्रीमा अमेरिकाले अप्रिलबाट लगाउने २५ प्रतिशत करको विरुद्धमा यी तीन राष्ट्र एकजुट भएको संकेत हो । यी तीन राष्ट्रले अमेरिकी उच्च करको सामना गर्न पाँच वर्षमा पहिलो पटक उच्च व्यापार अधिकारीहरूबीच बैठक गरेका हुन् ।
दक्षिण कोरिया र जापान प्रमुख अटो निर्यातकर्ता राष्ट्र हुन् भने चीन पनि अमेरिकी करहरूबाट नराम्ररी प्रभावित भएको छ । बैठकमा दक्षिण कोरियाका उद्योगमन्त्री आन डक–ग्युन, उनका जापानी समकक्षी योजी मुतो र चीनका वाङ वेन्ताओ उपस्थित थिए ।
“तीन देशले व्यापक त्रिपक्षीय स्वतन्त्र–व्यापार सम्झौताका लागि आफ्नो वार्ता तीव्र पार्न आह्वान गरेर अनुमानयोग्य व्यापार र लगानी वातावरण सिर्जना गर्न सहमत भए”, एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दक्षिण कोरियाका उद्योगमन्त्री आनले तीन देशले साझा वैश्विक चुनौतीहरूको सामना ‘संयुक्त रूपमा’ गर्नुपर्ने बताए । “आजको आर्थिक र व्यापार वातावरण विश्व अर्थतन्त्रको बढ्दो विखण्डनले चिह्नित छ”, उनले भने ।
“हाम्रो वरपरको अन्तर्राष्ट्रिय वातावरण निरन्तर परिवर्तन हुँदै गइरहेको छ, अनि अनिश्चितता बढ्दै गइरहेको छ”, जापानी व्यापार अधिकारी यासुजी कोमियामाले पत्रकार सम्मेलनमा भनेका छन् ।
चिनियाँ अधिकारी वाङ लिपिङले एकपक्षीयता र संरक्षणवाद फैलिरहेको भन्दै तीन देशले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्न जिम्मेवारी लिनुपर्ने बताए । उनका अनुसार यी तीन देशले विश्वको जनसङ्ख्याको २० प्रतिशत, विश्व अर्थतन्त्रको २४ प्रतिशत र विश्वव्यापी व्यापारिक व्यापारको १९ प्रतिशत हिस्सा ओगटेका छन् ।
ट्रम्पले आउने अप्रिल २ देखि अटो बजार लक्षित प्रत्येक व्यापार साझेदार राष्ट्रहरुबाट आयात हुने कारमा २५ प्रतिशत कर लगाउने निणर्य गरिसकेका छन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्