दोलखा । जिल्लाको बिगु गाउँपालिका–३ बुलुङमा रहेको शारदा माध्यमिक विद्यालयले स्थापना दिवस तथा स्वर्णमहोत्सव मनाएको छ । उक्त अवसरमा व्यवसायी ओमकृष्ण आचार्यले एक लाख रुपैयाँ राशीको छात्रवृत्ति कोष स्थापना गरेका छन् ।
स्वर्ण महोत्सवको अवसरमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य समेत रहेका व्यवसायी ओमकृष्ण आचार्यले विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै शैक्षिक स्तरमा समेत सुधार ल्याउन सकिने उद्देश्यका साथ उनले स्वर्गीय पिता चेत प्रसाद आचार्यको सम्मानमा सो छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।
बुलुङमै जन्मिएर हुर्किएका व्यवसायी आचार्य हाल काठमाडौंलाई कार्यक्षेत्र बनाएर व्यवसाय गर्दै आएका छन् । उनी बिगु गाउँपालिकाको शिक्षा समिति सदस्य समेत हुन् । उनले विद्यालयका प्रधानाध्यापक कुमार श्रेष्ठ र वडाध्यक्ष ढालबहादुर तामाङलाई कोषमा दाखिला गरिने रकम बराबरको चेक हस्तान्तरण गरे । यो रकम आगामी वर्षहरूमा विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन र सहयोगको रूपमा प्रदान गरिने र त्यसको सम्पूर्ण व्यवस्थापन विद्यालयले गर्ने उनले बताए ।
कोष स्थापनापछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले शिक्षा क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिने र आगामी वर्षहरूमा विद्यालयका विद्यार्थीलाई उच्च शिक्षा प्राप्तिमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे । ‘शिक्षा एक यस्तो औजार हो, जसले व्यक्तिको जीवन परिवर्तन गर्न सक्छ र त्यसैकारण मैले यो कोष स्थापना गरेको हुँ,’ उनले भने, ‘यसबाट विद्यालयका विद्यार्थीहरूले थप अवसर प्राप्त गर्न सक्ने विश्वास मैले लिएको छु ।’
स्थापनाको ५० वर्ष पुगेको अवसरमा विद्यालयले ५०औँ जन्मजयन्ती अर्थात् स्वर्णमहोत्सव ‘पचासौँ वर्षको गौरवशाली यात्रा : शिक्षा र समृद्धिका लागि हाम्रो प्रतिबद्धता’ नारासहित विद्यालयले हिजो (सोमबार ) भव्य समारोह आयोजना गरीएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ तामाङको सभापतित्व र बिगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीको प्रमुख आतिथ्यतामा आयोजित भव्य समारोहकाबीच अध्यक्ष ओलीसहित विद्यालयका प्रधानाध्यापक कुमार श्रेष्ठ, बुलुङका वडाध्यक्ष ढालबहादुर तामाङ र राजनीतिक तथा समाजसेवी व्यक्तित्व ओमकृष्ण आचार्यलगायतले संयुक्त रूपमा स्वर्णमहोत्सव उद्घाटन गरेका हुन् ।
विद्यालयले तीन दिनसम्म विभिन्न शैक्षिक सांस्कृतिक कार्यक्रमको आयोजना गरी स्वर्णमहोत्सव मनाइरहेको जनाएको छ ।
पहिलो दिन बुलुङ वडाभित्रका कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृति प्रस्तुति दिएको स्वर्ण महोत्सव समारोह मुल आयोजक समितिका संयोजक बालकृष्ण मल्लले जानकारी दिए । उनका अनुसार महोत्सवको दोस्रो दिन आज बिगु गाउँपालिकास्तरीय माध्यमिक विद्यालय (कक्षा १०) विज्ञान विषयमा आधारित हाजिरीजवाफ प्रतियोगिता र विद्यालयभित्रका विद्यार्थीहरूबीच चित्रकला प्रतियोगिता आयोजना भइरहेको छ ।

यस्तै, तेस्रो दिन अर्थात् भोलि स्वर्णमहोत्सव समारोह समापनको कार्यक्रम रहेको छ । समापनअघि महिला अभिभावक म्युजिकल चेयर र पुरुष अभिभावक हाँडी फुटाइ प्रतियोगिता गरिने छ । ती सबै प्रतियोगिता सम्पन्न भएपछि गाउँपालिकाकी उपप्रमुख देविका थामीबाट समारोह समापन गर्ने तयारी रहेको संयोजक मल्लले जानकारी दिए । समापन समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वध्यक्ष, पूर्वप्रधानाध्यापक, संस्थापक, पूर्वशिक्षक, विद्यालय कर्मचारी र सहयोगी व्यक्तिहरूलाई सम्मान तथा प्रतियोगितामा विजयीहरूलाई पुरस्कार वितरण गरिने छ ।

















प्रतिक्रिया दिनुहोस्