काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका लागि दीर्घकालीन सहकार्य गर्न सम्झौता भएको छ ।
उक्त सम्झौता आइतबार (३१ चैत) मा भएको हो । विश्वविद्यालयका अध्यक्ष डा.राजेन्द्र ध्वज जोशी र क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार दुई संस्थाले नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्ने महासचिव चन्द्र विलास भुर्तेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा विश्वविद्यालय र क्यान महासंघले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, डिजिटल प्रविधिको अनुसन्धान र विकासमा सहयोग गर्ने, विभिन्न तालिम, सेमिनार लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ । साथै, विद्यार्थीहरूलाई उद्योगमा इन्टर्नशिपको अवसर प्रदान गर्ने र उद्योग(शिक्षा सहकार्यलाई प्रोत्साहित गर्ने कार्ययोजना रहेको छ ।
दुवै पक्षका तर्फबाट फोकल पर्सन तोकिएको छ । यसअनुसार विश्वविद्यालयबाट उपप्राध्यापक डा। राजीव सुब्बा र महासंघबाट निवर्तमान अध्यक्ष रणजित कुमार पोदारले सहकार्यका कार्यक्रमहरूलाई समन्वय गर्नेछन् ।
यस सम्झौता आगामी पाँच वर्षसम्म कायम रहने र आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा विस्तार वा परिमार्जन गर्न सकिने बताइएको छ । दुई पक्षीय समझदारी अनुसार पारस्परिक विश्वास, पारदर्शिता र आत्मनिर्भर सहकार्यको सिद्धान्तमा आधारित रहेर काम गरिनेछ ।
यसैबीच मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर तहका दुई आईटी शैक्षिक कार्यक्रमका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । आगामी २०२५ मे १६ बाट सुरु हुने शैक्षिक सत्रका लागि मास्टर अफ एप्लाइड साइन्स (एमएएस) इन आर्टिफिसियल इन्टेलिजेन्स र मास्टर अफ एप्लाइड साइन्स इन डेटा साइन्स कार्यक्रममा आंशिकदेखि पूर्ण छात्रवृत्तिसम्म (२५% देखि १००% सम्म) शुल्क छुट प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।
पूर्णकालीन (फुल टाइम) दुई वर्षे अनुसन्धानमुखी यी शैक्षिक कार्यक्रम अध्ययन गर्न मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तहमा विज्ञान, इन्जिनियरिङ, प्रविधि वा अन्य सम्बन्धित विषयमा न्यूनतम ४. जीपीए स्केलमा २.७५ वा अन्तर्राष्ट्रिय समकक्षता हासिल गरेकोले आवेदन दिन योग्य हुनेछन् ।
आवेदन दिने अन्तिम म्याद २०२५ अप्रिल २३ सम्म रहेको छ भने छनोट भएका विद्यार्थीको नाम अप्रिल २६ मा प्रकाशित गर्ने कलेज प्रशासनले जनाएको छ । योग्य र इच्छुक विद्यार्थीले scholarship.can.org.np मा उपलब्ध फाराम भरी आवेदन दिन सक्नेछन् ।















प्रतिक्रिया दिनुहोस्