काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) ले सूचना प्रविधि क्षेत्रलाई बजेटले पहिलो पटक स्पष्ट रूपमा उद्योगको रूपमा चिनाएको निष्कर्ष निकालेको छ ।
आगामी आर्थिक वर्ष २०८२/ ८३ को बजेटमा सरकारलाई यसअघि पेश गरिएको २५ बुँदे सुझावमध्ये धेरैजसो माग सम्बोधन भएको ठहर गर्दै क्यान महासंघले बजेटप्रति आभार व्यक्त गरेको छ ।
महासंघले आज एक विज्ञप्ति मार्फत सूचना प्रविधिलाई उद्योगको हैसियत दिने व्यवस्था, कर सहुलियत, सेवा निर्यातमा प्रोत्साहन, स्टार्टअपका लागि सहुलियत ब्याजदरमा कर्जा प्रवाह तथा कर छुट र पूर्वाधार निर्माणका लागि गरिएको व्यवस्था सराहनीय भएको जनाएको छ ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले आईसिटी क्षेत्रलाई उद्योगको रुपमा हेरेर सरकारले ल्याएको बजेट सकारात्मक भएको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताइन् । अध्यक्ष घिमिरेले भनिन्, “बजेटले सूचना प्रविधि क्षेत्रलाई पहिलो पटक स्पष्ट रूपमा उद्योगको रूपमा चिनाएको छ । यो हाम्रो लामो समयदेखिको माग थियो । कर नीतिमा लचकता, स्टार्टअप प्रोत्साहन, सेवा निर्यात प्रवर्द्धनजस्ता विषयले हामीलाई आशावादी बनाएको छ । अब यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।”
सरकारले आर्थिक ऐनमार्फत बजेटमा प्रस्ताव गरिएका व्यवस्थाहरूलाई कसरी कार्यान्वयन गर्छ भन्नेबारे स्पष्ट भएपछि मात्र विस्तृत प्रतिक्रिया दिने तयारी क्यान
महासंघले गरेको अध्यक्ष घिमिरेको भनाइ छ । बजेटमा सूचना प्रविधिमा आधारित उद्योगलाई विशेष उद्योगसरह मानि आयकर र विद्युत महसुल छुट दिने व्यवस्था गरिएको छ । यसले सूचना प्रविधिलाई उद्योगको रुपमा औपचारिक मान्यता दिने संकेत गरेको बुझाइ अध्यक्ष घिमिरेको छ । त्यस्तै, निजी क्षेत्रको मागलाई सम्बोधन गर्नेगरी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत अन्तिम आयकर लगाउने र स्टार्टअप कम्पनीहरूलाई पाँच वर्षसम्म कर छुट दिने घोषणाले यस क्षेत्रको विकास र नवप्रवर्तनलाई प्रोत्साहन दिने अध्यक्ष घिमिरेको अपेक्षा छ ।
सरकारले बजेटमा पूर्वाधार विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण कार्यक्रमहरू समावेश गरेको छ । डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरिने, काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण, एकीकृत डेटा व्यवस्थापन केन्द्रको स्तरोन्नति, क्लाउड पूर्वाधार विकास र मध्यपहाडी क्षेत्रमा डेटा सेन्टर स्थापना गर्ने घोषणाले डिजिटल अर्थतन्त्रको आधार तयार पार्ने क्यान महासंघले जनाएको छ । यस्तै, फोरजी सेवाको गुणस्तर सुधार र फाइभजी विस्तार, एआई र मेसिन लर्निङ अनुसन्धानमा निजी क्षेत्रसँग सहकार्य र सरकारी निकायमा स्वदेशी सफ्टवेयर प्रयोग, एआई तथा साइबर सुरक्षाको सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने लगायतका महासंघले उठाउँदै आएका विषय बजेटमा समेटिएको भन्दै महासंघले त्यसको स्वागत गरेको छ ।
सरकारले यो क्षेत्रमा बजेटमार्फत ल्याएका कार्यक्रमहरुको कार्यान्वयन चुनौतीपूर्ण रहने उल्लेख गर्दै महासंघले योजनाबद्ध रुपमा काम गर्नुपर्ने सुझाएको छ । “घोषणाहरू राम्रा छन् । तर ती घोषणा नीति, कार्यक्रम र बजेट खर्चमा स्पष्ट रूपमा झल्कनुपर्छ,” क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले भने, “हामी कार्यविधि र कार्यान्वयन संयन्त्रलाई प्रभावकारी बनाउन सरकारसँग सहकार्य गर्न तयार छौं ।”
सरकारले अघि सारेका योजनाको प्रभावकारी कार्यान्वयन भए आईटी क्षेत्रले रोजगारी सिर्जना, सेवा निर्यातमा वृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा महासंघको छ ।















प्रतिक्रिया दिनुहोस्