काठमाडौं । नवप्रवर्तनलाई सुदृढ पार्न क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालयले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
यो साझेदारीले नेपालको सूचना तथा सञ्चार प्रविधि आईसीटी परिदृश्यलाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताइएको छ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिनिधित्व गर्ने राष्ट्रिय गैर–नाफामुखी संस्था क्यान महासंघ र बाँकेको नेपालगञ्जमा रहेको सार्वजनिक प्राविधिक विश्वविद्यालय लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार महासंघ र विश्वविद्यालयबीच शिक्षा, अनुसन्धान र उद्योग संलग्नतालाई अगाडि बढाउन सहकार्य हुने छ । नेपालमा नवप्रवर्तनलाई बढावा दिने, सीप विकासलाई प्रवर्द्धन गर्ने र बलियो उद्योग–शैक्षिक सम्बन्ध निर्माण गर्ने साझा दृष्टिकोणका साथ दुई पक्षबीच सम्झौता भएको महासचिव चन्द्र विसाल भुर्तेलले जानकारी दिए ।

उनका अनुसार यो साझेदारीको उद्देश्य द्रुत गतिमा विकसित हुँदै गइरहेको आईसीटी क्षेत्रको आवश्यकताहरूसँग शैक्षिक गतिविधिलाई पङ्क्तिबद्ध गर्नु हो, जसले अन्ततः नेपालको डिजिटल रूपान्तरणमा योगदान पुर्याउँने बताइएको छ।
जसअनुसार दुई पक्षबीचमा संयुक्त कार्यक्रम र कार्यक्रम संगठन निर्माण, इन्टर्नशिप र उद्योगमा संलग्नता बढाउने, सहयोगी अनुसन्धान र नवप्रवर्तन एवं आईसीटी क्षेत्रमा नीति वकालत गर्ने गरी समझदारी भएको छ । सम्झौतापछि क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले तल्लो लेबलमा रहेका आईसीटी प्रतिभालाई हुर्काउन महत्वपूर्ण हुने बताइन् । अध्यक्ष घिमिरेले भनिन्, “एलटीयूसँगको यो साझेदारीले ग्रासरुट लेभलमा आईसीटी प्रतिभालाई हुर्काउने र नेपालमा एक बलियो नवप्रवर्तन इकोसिस्टम सिर्जना गर्ने दिशामा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो।”
शैक्षिक संस्थाहरू र आईसीटी उद्योग बीचको खाडललाई कम गर्न दुवै संस्थाहरूको साझा प्रतिवद्धतालाई जोड दिनेछ ।















प्रतिक्रिया दिनुहोस्