ललितपुर। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
महानगरले विकास निर्माण, सम्पदा तथा संस्कृति संरक्षण, सुशासन, सामाजिक समावेशीकरण र दिगो शहरी विकासलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको हो।
बुधबार नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरवासीका आवश्यकता र समस्यालाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको बताइन्। उनले सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका वर्ग, समुदाय र क्षेत्रलाई विकासको मूलधारमा समेट्ने लक्ष्यसहित बजेट तयार गरिएको उल्लेख गरिन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गठित स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सिफारिसअनुसार प्रस्तुत बजेटमध्ये कुल खर्च ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसमध्ये चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको छ।
महानगरपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म कुल ३ अर्ब ४३ करोड ७६ लाख ९१ हजार रुपैयाँ अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको छ। यसमध्ये चालु खर्च ७२ प्रतिशत र पुँजीगत खर्च ४१ प्रतिशत रहेको छ।
आगामी वर्षको बजेटमार्फत स्थानीय कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धन, स्थानीय स्रोत–साधनको समुचित उपयोग, सार्वजनिक जग्गा संरक्षण, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सेवा प्रवाहमा पारदर्शिता र सुशासनलाई विशेष प्राथमिकता दिइएको छ।
त्यसैगरी संस्थागत सुदृढीकरण, दिगो पूर्वाधार तथा शहरी विकास, स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, पर्यटन विकास, युवा तथा खेलकुद, बालमैत्री कार्यक्रम, रोजगार प्रवर्द्धन र गरिबी न्यूनीकरणका कार्यक्रमलाई पनि बजेटले प्राथमिकतामा राखेको छ।
महानगरले निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य गर्दै प्रविधिमैत्री, जवाफदेही र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने तथा प्रत्येक घरमा स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यसमेत अघि सारेको छ।
महानगरपालिकाले सीमित स्रोत–साधनका बाबजुद विकास निर्माण, सम्पदा संरक्षण, सेवा प्रवाह सुधार र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्