काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लागेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
आइतबार मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले आफूमाथि यस्ता आरोप लगाएको बताए ।
उनले दुई ठूला दल मिलेर राजनीतिक स्थायित्व, विकास र सुशासनले गति दिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको तर्क गरे ।“झुुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ?, हामीले कुनै अपराध गरिरहेका छौँ?” ओलीले प्रश्न गर्दै भने, “आजकाल नीलो रङका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन । ”
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी गरे ।
पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिनु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेत राख्न सुुझाव दिए । “पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन”, प्रधानमन्त्रीले भने ।
कांग्रेस महामन्त्री गगन थापाले २ वैशाखमा काठमाडौंमा आयोजित एक कार्यक्रममाअर्थतन्त्रमा बिचौलियाका कारण समस्या आएको र बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका थिए ।
















प्रतिक्रिया दिनुहोस्