Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

काभ्रेका बाढी पीडितलाई पहिलो किस्ता बापत २५ हजार अस्थायी आवास अनुदान वितरण

काभ्रेका बाढी पीडितलाई पहिलो किस्ता बापत २५ हजार अस्थायी आवास अनुदान वितरण
विज्ञापन
Advertisement

काभ्रेपलाञ्चोक । विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोपीडितलाई अस्थायी आवास निर्माणका लागि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट अनुदान वितरण थालिएको छ । सात महिनाभन्दा बढी समयपछि पीडितका बैंक खातामा रकम पठाउन थालिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

रोशी गाउँपालिकाले ५४८ पीडित परिवारका लागि लागि अस्थायी आवास निर्माणार्थ पहिलो किस्तावापतको रकम निकासा सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गाउँपालिकाको खातामा सङ्घीय सरकारबाट अनुदान रकम आएपछि बाढीपहिरो पीडितका लागि पहिलो किस्तावापतको रु २५ हजार सम्बन्धित लाभग्राहीको खातामा निकासा गर्ने काम भइरहेको बताए । उनले पीडितलाई बैंक खाता खोल्न बाँकी तथा अन्य समस्या भएमा सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकाको विपद् हेल्प डेस्कमा सम्पर्क गर्न अनुरोध गरे ।

बाढीपहिरोबाट अतिप्रभावित बेथानचोक गाउँपालिकाले आउँदो सातादेखि अस्थायी राहत रकम वितरण गर्ने भएको छ । अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाको खातामा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट रकम निकासा भइसकेकाले वितरणको तयारी भइरहेको बताए । जिल्लामै जनधनको बढी क्षति पुगेको पनौती नगरपालिकामा पनि पीडित परिवारलाई रकम दिने तयारी छ । ‘जिल्लाबाट साताअघि नगरको खाता नम्बर मागिएको थियो, अनुदान आएपछि सम्बन्धित पीडितपरिवारको खातामा जम्मा गछौँँ’, नगरप्रमुख रामशरण भण्डारीले भने । उनका अनुसार नगरबाट ६ सय ३४ पीडितपरिवारका लागि अनुदान माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सरकारमार्फत प्राधिकरणबाट प्राप्त अनुदान बाढीपहिरोबाट पीडितलाई अस्थायी आवास निर्माणका लागि १० स्थानीय तहमा वितरण गरिरहेको जनाएको छ ।

जिल्लाको १० तहका दुई हजार ८९५ परिवारका लागि पहिलो किस्तावापत रु २५ हजारका दरले राहत उपलब्ध गराउन यही वैशाख पहिलो सातादेखि रकम निकासा सुरु गरेको थियो । उल्लेखित प्रभावित परिवारका लागि उपलब्ध गराइने  ५० हजार राहत रकममध्ये पहिलो किस्तास्वरुप २५ हजार उपलब्ध गराउन लागिएको हो ।

सरकारबाट कार्यालयमा प्राप्त रु सात करोड २३ लाख ७५ हजार राहत रकम १० स्थानीय तहलाई परिवारको सङ्ख्याका आधारमा वितरण थालिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। ‘माग भएअनुसार जिल्ला प्रशासन कार्यालयमा आएको उक्त रकम यही वैशाख ७ गतेदेखि प्रभावित परिवार सङ्ख्याका आधारमा स्थानीय तहलाई वितरण गरिरहेका छौँ’, उनले भने ।

प्राधिकरणले दोस्रो किस्ताबापत २५ हजार रुपैयाँँउपलब्ध हुने जनाएको छ । महाभारत गाउँपालिकामा १७, बेथानचोकमा दुई सय ३९ र नमोबुद्ध नगरमा आठ सय २४ परिवार, पनौती नगरमा छ सय ३४, पाँचखालमा ८८, धुलिखेलमा ८६, मण्डनदेउपुर एक सय ३३ तथा खानीखोला गाउँपालिकमा ४६, चौरीदेउरालीमा दुई सय ८० र रोशीमा पाँच सय ४८ परिवारका लागि निकासा माग गरिएको थियो ।

तीन स्थानीय तहका विपद् व्यवस्थापन समितिले प्रक्रिया पूरा नगर्दा अस्थायी आवासका लागि पहिलो किस्तावापतको रकम निकासा माग नभएको जनाइएको छ ।

असोजको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्ता छन् भने एक सयको हाराहारीमा घाइते भएका थिए ।

गत चैत अन्तिम सातामात्र जिल्लामा सबैभन्दा बढी जनधनको क्षति व्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको थियो । गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुवात गरेका हुन्। स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आकलनका लागि १८ प्राविधिक खटाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit