Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

उपत्यका ‘बर्ड फ्लु’ को हटस्पट बन्दै गर्दा विभागका महानिर्देशक दाहाल भन्छन्– मासु र अण्डा सुरक्षित छ, खानुस्

उपत्यका ‘बर्ड फ्लु’ को हटस्पट बन्दै गर्दा विभागका महानिर्देशक दाहाल भन्छन्– मासु र अण्डा सुरक्षित छ, खानुस्
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनायता फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले काठमाडौं उपत्यकामा केन्द्रित बन्दै गएको छ। पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि भए पनि पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे सबैभन्दा जोखिमयुक्त क्षेत्रका रूपमा देखिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

डा.दाहालले देशभरका प्रयोगशालामार्फत नियमित निगरानी र नमुना परीक्षण भइरहेको जानकारी दिँदै उपत्यकाबाहेक अन्य क्षेत्रमा हाल नयाँ संक्रमण पुष्टि नभएको बताए। विभागको मुख्य ध्यान अहिले उपत्यकाभित्र फैलिएको संक्रमणलाई चाँडो नियन्त्रण गर्नेमा केन्द्रित रहेको उनको भनाइ छ।

उनका अनुसार हालसम्म साना–ठूला गरी ८० भन्दा बढी कुखुरा फार्ममा बर्ड फ्लु पुष्टि भइसकेको छ। बिहीबार मात्रै थप पाँच स्थानका नमुनामा संक्रमण देखिएपछि प्राविधिक टोली परिचालन गरी नियन्त्रणका उपाय अघि बढाइएको छ।

संक्रमणको सुरुवात चैत्र अन्तिमतिर कागमा देखिएको थियो। त्यसपछि जेठ दोस्रो सातादेखि काठमाडौंका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर लगायत क्षेत्रमा फैलिन थालेको विभागको निष्कर्ष छ। गोदावरी, चाँगुनारायण र सूर्यविनायक क्षेत्रमा समेत संक्रमण देखिएको छ। सदर चिडियाखानामा संक्रमित काग फेला परेपछि वन्यजन्तु तथा जंगली चरामा पनि संक्रमण फैलिएको संकेत देखिएको डा. दाहालले बताए।

६ लाखभन्दा बढी कुखुरा नष्ट

संक्रमण नियन्त्रणका लागि हालसम्म ६ लाखभन्दा बढी कुखुरा नष्ट गरिएको छ। साथै ५५ लाखभन्दा बढी अण्डा र करिब दुई लाख किलो दाना पनि नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ। दाहालका अनुसार यसबाट हालसम्म ६० करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष आर्थिक क्षति भइसकेको छ। उत्पादन बन्द हुनु, फार्म खाली राख्नुपर्ने अवस्था र पुनः उत्पादन सुरु गर्न लाग्ने समयका कारण अप्रत्यक्ष क्षति भने अर्बौं रुपैयाँ पुग्न सक्ने अनुमान गरिएको छ।

‘कुखुरा नष्ट गरिएपछि कम्तीमा ४२ दिनसम्म नयाँ चल्ला राख्न पाइँदैन, जसले किसानलाई लामो समय उत्पादनबाट वञ्चित बनाउँछ,’ उनले भने।

संक्रमित पक्षी नष्ट गर्नु बर्ड फ्लु नियन्त्रणको उपयुक्त विकल्प

बर्ड फ्लु अत्यन्त संक्रामक भाइरसजन्य रोग भएकाले उपचार वा प्रभावकारी खोप उपलब्ध नभएको दाहालले बताए। उनका अनुसार संक्रमण पुष्टि भएका स्थानमा ‘स्टाम्पिङ आउट’ विधि अपनाइन्छ, जसअन्तर्गत संक्रमित पक्षी तथा संक्रमणका स्रोत मानिएका सामग्री नष्ट गरिन्छ। ‘संक्रमित पक्षी नष्ट गर्नु नै बर्ड फ्लु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो,’ उनले भने। संक्रमण मानिसमा समेत सर्न सक्ने सम्भावना भएकाले जोखिम क्षेत्र पहिचान गरी तत्काल नियन्त्रणका उपाय अपनाइने उनले बताए।

हालसम्म नेपालमा मानवमा संक्रमणको एउटा मात्रै पुरानो घटना देखिएको भए पनि अहिले मानव संक्रमण पुष्टि नभएको विभागको भनाइ छ। चिडियाखाना र अन्य क्षेत्रमा एच–नाइन (एच९) प्रकारको एभियन इन्फ्लुएन्जा देखिएपछि भाइरसको स्वरूप परिवर्तन भएको हो कि भन्ने विषयमा अध्ययन सुरु गरिएको छ।

किसानलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति

बर्ड फ्लु रोग नियन्त्रण नियमावली–२०७८ अनुसार संक्रमित फार्मका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको डा। दाहालले जानकारी दिए। जिल्लास्तरको दररेट निर्धारण समितिले लागत मूल्य निर्धारण गर्ने र नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा किसानकै बैंक खातामा रकम पठाइने व्यवस्था रहेको उनले बताए। हाल प्रभावित किसानको विवरण संकलन तथा आवश्यक कागजात व्यवस्थापनको काम भइरहेको छ।

मासु र अण्डा सुरक्षित

दाहालले बजारमा उपलब्ध मासु तथा अण्डा सुरक्षित रहेको उल्लेख गरे । तर, सबै प्रकारका मासु राम्ररी पकाएर मात्र उपभोग गर्न उपभोक्तालाई उनको आग्रह छ। ‘ मासुमा भाइरस छैन, संक्रमण भएको स्थानमा हामी तत्काल नष्ट गरिहाल्छौं । नभएको ठाउँको मासु सुरक्षित हुन्छ निर्धक्कसँग खान सकिन्छ, महानिर्देशक दाहालले भने, ‘राम्ररी पकाएर खादा यो भाइरस मानिसमा सर्ने सम्भावना नै रहँदैन ।’  साथै कुखुरा व्यवसायीलाई जैविक सुरक्षा मापदण्ड पालना गर्न, नियमित सरसफाइ गर्न र पशुपन्छी बीमा गर्न सुझाव दिए।

उनका अनुसार पशुपन्छी बीमामा सरकारले प्रिमियमको ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था भएकाले किसानले २० प्रतिशत मात्रै खर्च गरेर आफ्नो व्यवसाय सुरक्षित बनाउन सक्छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit