काठमाडाैं । नेपालको सूचना तथा प्रविधि (आईसीटी) क्षेत्रमा दुई दशकभन्दा लामो योगदान दिएका चिरञ्जीवी अधिकारी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। क्यान महासंघका ६ जना उपाध्यक्षहरूमध्येबाट अधिकारीलाई सर्वसम्मत रूपमा वरिष्ठ उपाध्यक्ष चयन गरिएको हो।
आईसीटी क्षेत्रमा २१ वर्षभन्दा बढी अनुभव बोकेका अधिकारी विशेष गरी साइबर सुरक्षा, सूचना सुरक्षा, कृत्रिम बुद्धिमत्ता, आईटी शासन, र सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा उच्च विशेषज्ञता राख्ने व्यक्तित्वका रूपमा परिचित छन्। चितवनको भरतपुर महानगरपालिका निवासी अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा थुप्रै प्राविधिक लेख प्रकाशित गरेका छन्। उनले प्राप्त गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रमाणपत्रहरूले उनको विशेषज्ञतालाई थप सुदृढ बनाएका छन्।
साइबर सुरक्षा सचेतना अभियानमा पनि अधिकारीले अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्। उनले नेपालभर ५०० भन्दा बढी सचेतना कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालय, सरकारी कार्यालय र निजी क्षेत्रलाई लक्षित गर्दै साइबर सुरक्षाको स्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएका छन्।
क्यान महासंघको वर्तमान वरिष्ठ उपाध्यक्ष हुनुका साथै अधिकारीले सूचना सुरक्षा र साइबर नवप्रवर्तन क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूको स्थापना र नेतृत्व समेत गरेका छन्। उनी इन्फरमेशन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल का निर्वतमान अध्यक्ष, सेन्टर फर साइबरसिक्योरिटी रिसर्च एन्ड इनोभेसनका संस्थापक अध्यक्ष तथा वन कभर प्रा।लि। का प्रमुख कार्यकारी अधिकृत हुन्। साथै, उनले सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा अध्यापनमार्फत पनि प्राविधिक शिक्षामा योगदान दिँदै आएका छन्।
उनले युवापुस्तालाई प्रविधिमा आकर्षित गर्दै स्टार्टअप संस्कृतिको विकासमा समेत उल्लेखनीय भूमिका खेलेका छन्। उनका प्रयासहरूले धेरै नेपाली युवालाई प्रविधिमा करियर बनाउन प्रेरणा दिएको छ।
गत वर्ष अधिकारीलाई पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबाट “आईसीटी एक्सिलेन्स अवार्ड २०२४” प्रदान गरिएको थियो। चन्द्रलोक फाउन्डेसनद्वारा आयोजित विशेष समारोहमा प्रदान गरिएको उक्त सम्मानले उनको दीर्घकालीन योगदानलाई उच्च सम्मान प्रदान गरेको थियो। उक्त पुरस्कार प्राप्त गरेपछि अधिकारीले देशको डिजिटल सुरक्षामा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए।
क्यान महासंघको नेतृत्वमा अधिकारीसँगै अन्य पदाधिकारीहरू पनि चयन भएका छन्। ठाकुर कुमार श्रेष्ठ कोशी प्रदेश सचिव, नारायण श्रेष्ठ लुम्बिनी प्रदेश सचिव, केशव भट्टराई संस्थागत समूह सचिव र दिपेन्द्र पौडेल व्यक्तिगत समूह सचिवमा निर्वाचित भएका छन्। नयाँ नेतृत्व टोलीबाट नेपालको डिजिटल भविष्यलाई अझ समावेशी, सुरक्षित र दिगो बनाउने अपेक्षा गरिएको छ।
चिरञ्जीवी अधिकारीको निर्वाचनले नेपालको आईसीटी क्षेत्रको सुदृढ भविष्यतर्फ मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ। उनको दूरदृष्टि, प्राविधिक नेतृत्व र शिक्षामा समर्पणले नेपाललाई अन्तर्राष्ट्रिय प्रविधि नक्शामा स्थापित गर्न थप बल पुर्याउने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्