Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

अलपत्र जिपी भवन बनाउन तीन करोड बजेट विनियोजन

अलपत्र जिपी भवन बनाउन तीन करोड बजेट विनियोजन
विज्ञापन
Advertisement

झापा । झापा सदरमुकाम भद्रपुर नगरपालिका–८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी भवन) को निर्माण कार्य सुरु हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जिपी भवनको निर्माण कार्य पुनः सुरु हुने भएको हो । भवन निर्माण कार्य अघि बढाउन शहरी विकास मन्त्रालयमार्फत तीन करोड बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए । “निर्माण कार्य अघि बढाउन शहरी विकास मन्त्रालयबाट बजेट प्राप्त भएको छ”, नगरप्रमुख पोखरेलले भने, “भवन निर्माणमा रकम अभाव नहोस् भनेर बजेट आएको हो ।”

बजेट प्राप्त भएसँगै आगामी आर्थिक वर्षदेखि काम सुरु गरेर अधुरो भवनलाई पूरा गर्ने बाटो खुलेको उनले बताए । खरिद ऐन १४औँ संशोधनसँगै जिपी भवन निर्माणमा देखिएको कानुनी बाधासमेत हटेको नगरप्रमुख पोखरेलले बताए । “खरिद ऐन संशोधनसँगै सरकारले पुराना अधुरा रहेका कामहरु पूरा गर्न आह्वान गरिसकेको छ । तर, अहिलेसम्म जिपी भवनको ठेकेदार सम्पर्कमा आएको देखिँदैन ।”

जिपी भवनको निर्माण अवधिको म्याद थप नहुँदा ठेकेदारले काम नगरी सकेको अवस्था रहेको बताउँदै उनले भने, “संशोधित खरिद ऐनअनुसार अब प्रक्रिया अघि बढ्छ, काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर निर्णय गरेर माथिल्लो निकायमा पठाउनु भनेर स्थानीय तहलाई आदेश आइसकेको छ ।”

तत्कालीन झापा जिल्ला विकास समितिले सभागृह निर्माणका लागि १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का लगाएको थियो । प्रेरा–शाह जेभी कम्पनीले विसं २०७२ असार ९ गते निर्माण सम्झौतामा हस्ताक्षर गरेको र त्यसको म्याद विसं २०७४ भदौ ३१ गते समाप्त भएको थियो । ठेकेदार कम्पनीले करिब ११ करोड भुक्तानी लगिसकेको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

यसअघि गत चैतमा जिपी भवन निर्माणका लागि बजेट माग गर्दै नगरप्रमुख पोखरेललगायतको टोली ज्ञापनपत्र लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको थियो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भवन निर्माणमा रहेका समस्या हल गरेर निर्माण अवधि थप हुने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

“प्रधानमन्त्रीका साथै शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पनि भेटेर हामीले कुरा राखेका थियौँ”, उनले भने, “भवनका लागि राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले समेत पहल गर्नुभएको छ, उहाँहरुलाई म धन्यवाद दिन्छु ।”

विसं २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्षस्थ नेताहरुले बहुउपयोगी सभागृहको संयुक्त रुपमा शिलान्यास गरेका थिए । यहाँस्थित मेची रङ्गशालाको पश्चिमी छेउमा रहेको जिल्ला समन्वय समितिको खाली जग्गामा निर्माण सुरु गरिएको सभागृहको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ । यसको पहिलो तलामा व्यापारिक प्रयोजनका २७ सटर र दोस्रो तलामा तीन बैङ्क अट्ने फ्ल्याट र तेस्रो तलामा एक हजार जना क्षमताको अत्याधुनिक सभाहल बनाउने योजना रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit