Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बल्ल स्थापित भयो ‘अन्नपूर्ण प्रथम’ को वास्तविक चिनारी

बल्ल स्थापित भयो ‘अन्नपूर्ण प्रथम’ को वास्तविक चिनारी
विज्ञापन
Advertisement

बेनी । विश्वमा आठ हजार मिटर अग्ला हिमालमध्ये सबैभन्दा पहिलोपटक मानव पाइला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए ।

विज्ञापन
Advertisement
Advertisement

हिमालमा मानव पाइला परेको हिसाबले जेठो हिमालको नामले परिचित अन्नपूर्ण प्रथम हिमालको वास्तविक पहिचान र चिनारी अन्नपूर्ण हीरक महोत्सवले दिएको हो । पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । यसअघि कास्की र राजधानी काठमाडौं केन्द्रित कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएकामा पहिलोपटक वास्तविक भूगोलमै सरकारी तवरबाट अन्नपूर्ण आरोहण दिवस मनाइएको हो ।

गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यही जेठ १६ देखि २२ गतेसम्म अन्नपूर्ण हीरक महोत्सव मनाइएको छ ।

हीरक महोत्सवको मूल समारोहलाई उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली नारच्याङ आएका थिए । धेरै कोसिस गरेर अन्नपूर्ण आरोहण दिवसलाई वास्तविक भूगोलमा मनाउन सम्भव भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । “अन्नपूर्णको गुमेको पहिचान फिर्ता ल्याउन अन्नपूर्ण हीरक महोत्सवले सम्भव भएको छ, हिजोको दिनमा आरोहण आधार शिविर र पदमार्ग गुमनाम थिए, अब राज्य र सरोकारवाला सबैलाई वास्तविकताबारे जानकारी भएको छ, अब यस क्षेत्रको पर्यटन विकासमा रचनात्मक सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, गाउँपालिका अध्यक्ष पुनले भने ।

प्रधानमन्त्री र फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलदेखि प्रथम आरोही मौरिस हर्जोगका छोरा माथिएसलगायतका परिवारका सदस्य र फ्रान्सेली नागरिकहरुको समेत सहभागितामा अन्नपूर्ण हीरक महोत्सव मनाइएकाले आगामी दिनमा अन्नपूर्ण आधार शिविर र पदमार्गको प्रचारप्रसारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

हीरक महोत्सवका अवसरमा करिब २०० जनाको सहभागितामा नारच्याङदेखि आधार शिविरसम्मको पदयात्रा, आधार शिविरदेखि नारच्याङ गाउँसम्मको ३८ किलोमिटर लामो म्याराथन दौड प्रतियोगिताका साथै नारच्याङमा मूल समारोह र पुख्र्यौली नृत्य प्रस्तुतिलगायत कार्यक्रम समावेश गरिएको थियो । हिमाल आरोहणको इतिहासमा नेपालकै जेठो हिमालका रुपमा परिचित भए पनि आरोहण भएको वास्तविक भूगोल ओझेलमा परेकाले हीरक वार्षिकोत्सवलाई आरोहण आधार शिविरमै आएर मनाइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

“जेठो हिमालका रुपमा अन्नपूर्ण हिमालको संसारभर नाम फैलिए पनि वास्तविक आरोहण आधार शिविर उपेक्षामा परेको रहेछ, हामीले यस पटक सबै सरोकारवालासँग समन्वय गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमै आएर आरोहण दिवस मनाएका छौँ, यसले अन्नपूर्णको लुकेको पहिचानलाई अन्तरराष्ट्रियकरण गर्न सघाउ पुग्ने विश्वास गरेका छौँ”, लामिछानेले भने।

सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । आरोहण मार्गको हिसाबले ऐतिहासिक महत्व बोकेको भए पनि प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावले अन्नपूर्ण प्रथम आधार शिविर ओझेलमा परेको थियो ।

अन्नपूर्ण हिमाल आरोहण दिवस यसअघि पोखरा आसपासका क्षेत्रमा मनाउने गरिएकामा यस पटक हिमाल आरोहणमा इतिहास बोकेको अन्नपूर्ण प्रथम आधार शिविरमै आएर मनाउँदा यसले न्याय भएको महसुस भएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । भौगोलिक विकटता रहेको र राज्यको माथिल्लो निकायमा पहुँच राख्न नसकेको कारण अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा पूर्वाधार निर्माण हुन सकेको थिएन भने यहाँको पहिचानसमेत गुमनाम बनेको थियो ।

सन् २०१० मा हेलिकप्टरमार्फत नारच्याङ गाउँ आएका प्रथम आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आधार शिविरको ऐतिहासिक महत्वबारे स्थानीयवासीलाई अवगत गराएपछि विसं २०६८ मा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको नेतृत्वमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग पहिचान गरिएको थियो ।

“हामीले वर्षौं लगाएर पदमार्गलगायत पूर्वाधार बनाएका हौँ, हर्जोगकै सम्मानमा हामीले उहाँकै नामबाट मौरिस हर्जोग पदमार्गका रुपमा नामकरणसमेत गरेका छौँ, वषौँदेखि ओझेलमा परेको यो क्षेत्रले पहिलोपटक हीरक महोत्सवमा न्याय पाएको अनुभूति गरेका छौँ,” पदमार्गका अभियानकर्मी गुरुङले भने ।

उनका अनुसार हीरक महोत्सवका अवसरमा आधार शिविरमा प्रथम आरोहीहरुको सालिक अनावरण गर्नाका साथै अहिलेसम्मका सबै आरोहीहरुको अभिलेख समेत खुला सङ्ग्रहालय बनाएर राखिएको छ । प्रथम आरोही हर्जोगले हिमाल आरोहणमा प्रयोग गरेका उपकरण नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit