Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

पर्वतमा बाढी नियन्त्रण गर्न ३५ लाख खर्चेर नहर निर्माण

पर्वतमा बाढी नियन्त्रण गर्न ३५ लाख खर्चेर नहर निर्माण
विज्ञापन
Advertisement

पर्वत ।  जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ। बस्तीभन्दा माथिबाट आउने बाढी र पहिरोका कारण बर्सेनि जोखिम बढ्दै गएपछि क्षति रोकथामका लागि नहर निर्माण गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

गाउँभन्दा माथि रहेको नाथिमारेको डाँडाबाट खस्ने बुढीकुलोसहितको बाढीले सल्यानको बस्तीलाई जोखिममा पारेपछि बाढी नियन्त्रणका लागि वैकल्पिक नहर निर्माण गरिएको स्थानीय रुद्रलाल उपाध्यायले बताए । बाढीपहिरोको जोखिमका कारण वर्षायाममा त्रासमा बस्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय दुर्गा पौडेलले बताए । ठोट्नेरी, धारापानी, गुन्टेखेत हुँदै बग्ने बुढीकुलोका कारण सल्यान गाउँ बाढीपहिरोको जोखिममा परेपछि गाउँपालिकाले चालु आर्थिक वर्षमा बस्ती संरक्षण योजना सञ्चालन गरेको थियो ।

पालिकाले विनियोजन गरेको ३५ लाख २० हजार रुपैयाँ लगातमा बाढी नियन्त्रण गर्न तीन सय ५० मिटर लामो नहर निर्माण गरिएको जलजला गाउँपालिकाका इञ्जिनियर सुनिल बानियाँले जानकारी दिए । गत माघ ७ गते जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्न उपभोक्ता समितिसँग योजनाको सम्झौता गरिएको थियो । बूढीकुलो बाढी नियन्त्रण योजनाअन्तर्गत गुन्टेखेतमा कुलो निर्माण गरिएको उल्लेख गर्दै तोकिएको मितिमा निर्माणको सम्पन्न भएको उनले जानकारी दिए ।

गुन्टेखेत गाउँभन्दा माथिबाट पक्की नहर निर्माण गरेर बाढीलाई लुङ्दी खोलामा खसाल्ने गरी निर्माण गरिएको बूढीकुलो बाढी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष गङ्गाधर आचार्यले बताए । बूढीकुलोमा पानीसँगै आएको बाढीले सल्यानको बस्तीलाई उच्च जोखिममा पारेपछि बस्ती संरक्षणका लागि वैकल्पिक नहर बनाएर पानीसहितको बाढी लुङ्दी खोलामा जाने व्यवस्था मिलाइएको उनले बताए ।

गत वर्ष बूढीकुलोमा आएको बाढीका कारण नाथिमारेबाट खसेको पहिरोले सल्यानको भिरकुना र गगनपानीमा घर तथा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको थियो । बाढी खसेर स्थानीय रुद्रलाल उपाध्याय, गिरिधारी पौडेल, महानन्द पौडेल, माधवप्रसाद पाध्या, नारायणप्रसाद पाध्या, खेमराज पौडेल, दुर्गा पौडेललगायत स्थानीयको एक सय मुरी धान फल्ने खेत पुरिएको थियो भने पहिरो खसेर गगनपानीका चार घर उच्च जोखिमा परेका थिए ।

निर्माणाधीन मिलनचोक–सल्यान–गुन्टेखेत–घायखेत–धारापानी–ठोटनेरी सडक आयोजनाका कारण गाउँभरीको पानी बूढीकुलोमा जम्मा भएर सल्यानमाथिको डाँडाबाट बस्तीतिर खस्दा गाउँ जोखिममा परेपछि गुन्टेखेतबाट वैकल्पिक नहर निर्माण गरी लुङ्दी खोलामा पानी फाल्ने व्यवस्था गरिएको जलजला–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए । बाढी नियन्त्रण गर्न कुलो निर्माण गरेसँगै जोखिम कम हुने उनले विश्वास व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit