काठमाडौं। काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गरिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका दुई महानगरपालिकासहित नौ स्थानीय तहले साझा यातायातसँग सहकार्य गरी ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याएका हुन्।
संविधान दिवसको अवसर पारेर शनिबार साझा यातायातको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र साझा यातायातबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका सहभागी छन् । साझा यातायातका तर्फबाट अध्यक्ष शुशिलराज प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
रात्रिकालीन समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, श्रमिक, बिरामी तथा आन्तरिक र बाह्य पर्यटकलाई सुरक्षित, भरपर्दो र सहज यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको हो । विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, लगनखेल–बुढानीलकण्ठ रुटलाई गोदावरीसम्म विस्तार गरी ६ वटा, चक्रपथमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर–जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन हुनेछन् । यसअघि लगनखेल–बुढानीलकण्ठ र नागढुङ्गा–एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सात वटा बसमार्फत परीक्षण सेवा सञ्चालन गरिएको थियो । परीक्षणबाट रात्रिकालीन सार्वजनिक यातायातको आवश्यकता देखिएपछि स्थानीय तहको सहकार्यमा सेवा विस्तार गरिएको हो।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले रात्रिकालीन बस सेवा अब नियमित र दिगो रूपमा सञ्चालन गर्ने बताइन् । उनका अनुसार परीक्षणका क्रममा सञ्चालन भएका दुई रुटमा थप चार रुट विस्तार गरिएको छ भने सातवटा बसलाई ३० वटामा पुर्याइएको छ । उनले स्थानीय तहबीचको प्रशासनिक सीमाभन्दा नागरिकको आवश्यकतालाई प्राथमिकता दिएर सार्वजनिक सेवा विस्तार गरिएको बताइन् । संविधान र कानुनले स्थानीय तहलाई दिएको यातायात व्यवस्थापनसम्बन्धी अधिकारलाई व्यवहारमै कार्यान्वयन गर्न सहकार्य गरिएको उनको भनाइ छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संघीय सरकारबाट मेट्रो तथा बस र्यापिड ट्रान्जिटजस्ता ठूला यातायात प्रणाली अघि नबढेकाले स्थानीय तहले आफ्नै स्तरबाट सम्भव हुने प्रणालीमा सहकार्य गर्न थालेको बताए । साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेलले स्थानीय तहसँगको सहकार्यले रात्रिकालीन सार्वजनिक यातायातलाई निरन्तरता दिन सहयोग पुग्ने बताए ।सम्झौताअनुसार रात्रिकालीन बस सञ्चालनको खर्च यात्रुबाट प्राप्त टिकट आम्दानीले नपुगेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा व्यहोर्नेछन्। बाँकी ५० प्रतिशत रकममध्ये काठमाडौं र ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशतका दरले तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति भएको छ ।

सेवा सञ्चालनका लागि खर्च अपुग भए साझा यातायातले त्रैमासिक रूपमा रकम माग गर्ने व्यवस्था गरिएको छ। यात्रु चढ्ने र ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन् भने ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेजसहितका बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ। त्यस्तै, निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित स्थानीय तहले जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने सहमति भएको छ । चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी भने सम्बन्धित स्थानीय तहले लिनेछन् । रात्रिकालीन सेवा सञ्चालनको नियमित अनुगमन तथा त्रैमासिक प्रगति समीक्षा गर्ने व्यवस्था पनि सम्झौतामा गरिएको छ । साझा यातायातले वित्तीय प्रतिवेदनसमेत प्रस्तुत गर्नुपर्नेछ ।
चक्रपथमा सेवा विस्तार भएपछि एक स्थानमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने बताइएको छ। साझा यातायातले टिकटबाट हुने आर्थिक चुहावट नियन्त्रण गर्न असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणालीसमेत लागू गरेको छ । यात्रुले क्यूआरमार्फत वा नगद तिरेर टिकट लिन सक्नेछन् ।
हाल साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपैयाँ र काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ शेयर लगानी रहेको छ। साझा यातायातसँग हाल १११ वटा बस सञ्चालनमा रहेका छन्।















प्रतिक्रिया दिनुहोस्