images images images
images images images
images
images
images

वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा डुबानको समस्या

images

वीरगञ्ज (पर्सा) । अविरल बर्सातले वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिए । “लगातार ठूलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको छ । तर, डुबानकै कारणले अहिलेसम्म यहाँ धनजनको क्षति हुन भने पाएको छैन ।”

images
images

 

उनले भने, “महानगरको ३२ वटै वडामा कतिपय ठाउँमा पानीको उचित निकास नहुँदा केही डुबान पनि देखिएको छ ।” प्रमुख सिंहले सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनाराका वस्तीमा भने उच्च सतर्कता अपनाइएको जानकारी दिए । “सिर्सिया नदीआसपासमा रहेका वस्तीलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सार्ने काम भइरहेको छ”, उनले भने, “महानगरमा अहिलेसम्म कुनै पनि खालको मानवीय क्षति हुन भने पाएको छैन ।” प्रमुख सिंहले वडा नम्बर ११ र १७ का डुबान क्षेत्रमा जनतालाई अन्यतर्फ सार्ने काम भइरहेको जानकारी दिए ।

“वर्षाको पानीले हुनसक्ने डुबानलाई लक्षित गरेर टोल–टोलमा रहेका विद्यालय र धर्मशालालाई खुलाएर प्रभावितलाई राख्नको लागि निर्देशन दिएर अहिले ती ठाउँहरु खुला रुपमा राखिएका छन्”, उनले भने, “सबैसँग समन्वय गरेर उद्धारमा लागिरहेका छन् ।” प्रमुख सिंहले केही समय अघि तयार पारेको भेडाहा खोलाको बाँधले काम गरेकाले पनि अहिलेसम्म ठूलो प्रकृतिको क्षति हुन नपाएको दाबी गरे । “विगतमा भेडाहा खोलाको कारणले वडा नम्बर ३१ र अन्य वडामा ठूलो क्षति भएको थियो”, उनले भने, “अहिलेसम्म भेडाहाखोलाको बाँधले थेगिरहेको छ । अब कति समयसम्म थेग्छ भन्ने हो ।”

स्थानीय प्रशासनले थाल्यो सतर्कता

पर्सामा अत्यधिक वषा वर्षा भएपछि स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यहाँ अत्यधिक वर्षा हुन थालेपछि आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित पर्सा जिल्लामा पानी परेसँगै आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जानकारी दिए। “वर्षापछि हुनसक्ने डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीन वटै सुरक्षा निकायले उद्धारका लागि तयारी अवस्थामा जुटेका छन्”, उनले भने, “अहिलेसम्म वर्षाको कारणले कुनै पनि मानवीय क्षति भएको छैन ।”

प्रजिअ सुवेदीले वर्षा भइरहेकाले पनि कुनै पनि डुबान र अन्य प्रकृतिको समस्या भएको खण्डमा तुरुन्तै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई खबर गर्नका लागि अनुरोध गरे । “अहिले वीरगञ्जसहित पर्सामा वर्षा भइरहेको छ । जुनसुकै समयमा पनि जोखिम हुनसक्ने भएकाले पनि सर्वसाधारणले पनि आवश्यक सावधानी र अत्यावश्यक परेको खण्डमा मात्रै निस्कन अनुरोध गर्दछु ।”

भेडाहा खोलाको कारणले विगतमा वडा नम्बर ३१ र ३० मा क्षति पु¥याउने गथ्र्यो । वीरगञ्ज महानगर ३१ नम्बरका वडाध्यक्ष जीतेन्द्रप्रसाद यादवले डुबानको कारणले वडामा त्यति धेरै क्षति हुन नपाएको बताए । “भेडाहा खोलामा आएको बाढीले बालुवाको बोरा राखेर लगाइएको बाँधलाई केही क्षति पु¥याएको छ”, उनले भने, “लगातार पानी परेपछि बस्तीलाई अलर्ट गराउनेदेखि सतर्कता अपनाउनको लागि आह्वान गर्दै आइरहेका छौँ । अहिलेसम्म ३१ नम्बर वडामा मानवीय क्षति र जग्गा कटान हुन पाइरहेको छैन ।’’ वेल्वागाउँको उत्तरतर्फ रहेको छठघाट र वेल्वाको पश्चिम पुलतर्फ बाधिँएको बाँध पनि आधाजसो क्षतिग्रस्त भएको छ ।

वीरगञ्ज महानगर वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुलीले तिलावेपुलको पानी वडा नम्बर १७ तर्फ आउन लागेको बताए । “हाम्रो वडामा रहेको अलौँको कोनिया टोल डुबानमा पर्नसक्ने उच्च जोखिममा रहेको छ । सो बस्तीमा करिब १०० घरधुरी रहेका छन्”, उनले भनिन्, “जेसिबी स्क्काभेटर लगाएर पानी कटाउने काम भइरहेको छ । यद्यपि डुबान भइहालेमा कोनिया बस्तीका सर्वसाधारणलाई धर्मशालामा राख्नको लागि आवश्यक प्रबन्ध मिलाइसकेका छौँ ।” वडाध्यक्ष छत्कुलीले एकीकृत जाँचचौकीको पछाडि भागमा रहेका दुई÷चार वटा फुसका घर भने प्रभावित भएको जानकारी दिइन् । “अहिले डुबानको समस्या देखिएको ठाउँमा खटिएर जनतासँग समन्वय गरेर काम गरिरहेको छ ।” उनका अनुसार तिलावे पुलको पानी अलौँतर्फ आएको खण्डमा भने थप जोखिम हुने सम्भावना पनि कायमै रहेको छ ।

त्यस्तै वीरगञ्ज महानगर वडा नम्बर ११ का वडाध्यक्ष अजयकुमार बरैले लगातार वर्षाको कारणले श्रीपुरको नयाँबस्तीमा धेरै समस्या पारेको बताए । “अहिले बिहानीपख पानी रोकिएर केही राहत भएको छ”, उनले भने, “डुबानको कारणले कृषि सामग्री लिमिटेडको पछाडि भागमा बसोबास गर्ने दलित बस्तीका १५० भन्दा धेरै जनालाई श्रीपुरको धर्मशालामा लगेर राखेका छौँ ।”

त्यस्तै वीरगञ्ज महानगर वडा नम्बर २४ का वडाध्यक्ष विजयप्रसाद कुर्मीले वडा नम्बर २४ मा अहिले बिहानीपख ४ः०० बजेदेखि नयाँबस्तीमा डुबानको समस्या देखिएको बताए । “सबैठादेखि ठाकुरराम क्याम्पससम्मका भुभाग वडामा पर्ने गर्छ । जुन एरिया सिर्सिया नदीको किनारा भएकाले पनि डुबानको उच्च जोखिममा रहेको छ”, उनले भने, “सिर्सिया नदीको कारणले नदी आसपासको बस्तीमा करिब बह्मटोल, मनमोहन नगर, ज्योत्ति कोलनी, बज्रङटोललगायतमा डुबानको समस्या देखिएको छ । वडामा डुबानबाट भएका प्रभावितलाई उद्धार गरेर कुर्मी सेवा सदन र रामजानकी धर्मशालामा राखेका छौँ ।”

वीरगञ्ज महानगर २६ का वडाध्यक्ष शम्भु मिश्रले वर्षाको पानीले उचित निकास नहुँदा पानी जम्ने समस्या रहेको बताए । “वीरगञ्ज महानगर वडा नम्बर ११ मा बसोबास गर्ने ठाउँमा भने पानीको डुबानको समस्या पारिरहेको छ”, उनले भने, “यो विपद्को घडीमा संयम भएर एकापसमा सहयोग गर्नका लागि अनुरोध गर्दछु ।”रासस

images
images

प्रतिक्रिया दिनुहोस्