चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन निर्देशन दिएका छन्।
महाधिवेशनको अवधि अपेक्षाभन्दा लम्बिएको अवस्थालाई ध्यानमा राख्दै सभापति लामिछानेले प्रतिनिधिहरूले शुल्कबापत बुझाउनुपर्ने पाँच हजार रुपैयाँ अब अनिवार्य नरहेको स्पष्ट पारेका हुन्। पार्टीका अनुसार शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक कठिनाइमा रहेका प्रतिनिधिले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था समेत गरिएको छ।
रास्वपाले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई चितवन बसाइका क्रममा खानपिन, आवास तथा अन्य व्यवस्थापनसम्बन्धी कुनै समस्या परे सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ। प्रतिनिधिहरूलाई कुनै असहजता नहोस् भन्ने उद्देश्यले आवश्यक सहजीकरण र व्यवस्थापनको व्यवस्था मिलाइएको पार्टीले जनाएको छ।
चितवनमा जारी रास्वपाको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू सहभागी छन्। महाधिवेशनको समयावधि लम्बिएसँगै पार्टी नेतृत्वले प्रतिनिधिमाथिको आर्थिक भार कम गर्ने उद्देश्यले प्रतिनिधि शुल्क नलिने निर्णय गरेको जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्