चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सक्षम नेतृत्व चयन गर्न कडा मापदण्ड लागू गरिएको जनाएको छ । योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको हो ।
निर्वाचन प्रक्रियाअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि एक/एक जना प्रस्तावक अनिवार्य गरिएको छ । सभापतिका लागि ५१ जना समर्थक र पदाधिकारी तथा केन्द्रीय सदस्य को उम्मेदवार बन्न २१/२१ जना समर्थक अनिवार्य गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रस्तावक र समर्थक दुवै उम्मेदवार स्वयं हुन नपाउने व्यवस्था गरिएको छ। उनले भने, ‘नेतृत्व विकास भएका सक्षम व्यक्तिलाई जिम्मेवारी दिन यो नियम राखिएको हो ।’ देशकै ठूलो पार्टीका रूपमा रास्वपाको सङ्गठन सञ्चालनका लागि क्षमतावान र योग्य समूह आवश्यक भएकाले सोहीअनुसार छनोट प्रक्रिया कडा बनाइएको केसीले बताए । यसले केन्द्रमा प्रतिस्पर्धा गर्न सक्ने निखारिएका नेतृत्व मात्र अघि आउने उनको भनाइ छ ।
‘सङ्गठन विस्तारमा सक्रिय रहेकाहरूलाई समर्थक जुटाउन सहज हुने र उनीहरू नेतृत्वमा पुग्ने सम्भावना बढी हुने छ ,’ उनले भने । रास्वपाको चितवनमा जारी महाधिवेशन अन्र्तगत मंगलबार बन्दसत्र समाप्त भएपछि निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ ।















प्रतिक्रिया दिनुहोस्