काठमाडौं । काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काएको छ ।
आइतबार राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीको टोली पुगेको थियो । डोजरसहित थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काउन पुगेको काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली पछाडि हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तत्काल नभत्काउन पत्र पठापछि आफूहरू भवन नभत्काई पछाडि हटेको महानगरका नगरप्रहरी पूर्णचन्द्र भट्टले जानकारी दिए ।
महानगरले यसअघि नै कार्यालय सार्न मौखिक जानकारी गराएको थियो । सोही क्षेत्रका गुठी संस्थानका अन्य संरचनामा भने महानगरले भत्काएको छ ।
प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरी टोली त्यहाँ पुगेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नगरप्रहरी नायव उपरिक्षक पूर्णचन्द्र भट्टले सरकारी जग्गामा बिना टेन्डर पसलहरु सञ्चालनमा ल्याइएकोले संरचना भत्काएको बताए । ‘बिना टेन्डर प्रकृया नै पसलरु सञ्चालन गरिएका थिए । सरकारी जग्गामा सानो एउटा खाजा पसल खोल्न त टेन्डर चाहिन्छ । यहाँ चाँही उसै टीका लगाएर दिने हो र ? भट्टी पसल खोलेर बस्नुभएको छ अझ । नीतिगत निर्णय हुनुपर्यो । यहाँ प्रकृया पुर्याएको भए हामी आउनुपर्ने थिएन ।’
महानगरले आफूहरुलाई सामान सार्न समय नै नदिई सिधैं संरचना हटाउन आएको भन्दै व्यवसायी भने आक्रोसित बनेका छन् । राम मन्दिर परिसरभित्र गुठी संस्थानसँग अनुमति लिएर पसल सञ्चालन गर्दै आएका कासीराम बुढामगरको पसलमा डोजर चलाएपछि आक्रोसित हुँदै बालेनको कार्यशैली राम्रो नभएको टिप्पणी गरे । आफूहरुलाई कम्तीमा सामान सार्न समय दिनुपर्नेमा जोड दिँदै उनले भने, ‘बालेनले अवैध संरचना हटाउन गरेको काम राम्रो हो । तर, हामीले त गुठीसँग अनुमति लिएर काम गरेको हो, अवैध हो भन्ने कसरी थाहा पाउने । उहाँहरुले (गुठी संस्थान) तीन वर्ष बाँकी छ भन्नुभएको थियो,’ उनले थपे, ‘बालेनले दुई वर्षमा काठमाडौंमा भत्काएको मात्रै देखियो, बनाएको केही देखिएन ।’






कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्