काठमाडौं । वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’मा समस्या सुनाउनेको सङ्ख्या बढे पनि तिनको समाधान भने कम भएको पाइएको छ ।
बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा २०८१-८२ मा कल सेन्टरमा ९५ हजार ६७ जनाले समस्या टिपाएका ३३ हजार ४३० का समस्या मात्रै समाधान भएका छन् । जसमा ६१ हजार ६३७ जनाका समस्या समाधान हुन सकेका छैनन् ।
यस्तै, २०७६-७७ देखि २०८१-८२ सम्म समस्या सुनाउने प्रवृद्धि बढेको देखिए पनि समाधानको अवस्था अझै प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका नेपाली कामदारको गुनासो सुनुवाइ गरी सम्बन्धित निकायबाट यथाशीघ्र सहयोग उपलब्ध गराउने उद्देश्यले विसं २०७५ चैतदेखि कल सेन्टर स्थापना एवं सञ्चालन सुरु गरिएको हो ।
यस्तै, बोर्डबाट वैदेशिक रोजगारमा रहेका कामदारको स्वास्थ्य समस्या सम्बोधन गर्ने उद्देश्यले ‘टेलिमेडिसिन’ सेवा सञ्चालनसमेत सञ्चालनमा छ । यसमा पनि आव २०७९र८० देखि २०८१र८२ सम्म आठ हजार ५७९ सेवाग्राही रहेका छन् । यसमार्फत भने सत्प्रतिशत समस्या समाधान भएको तथ्याङ्क छ ।
बोर्डले १८औँ स्थापना दिवसका सन्र्दभमा आज वार्षिक प्रगति प्रतिवेदन प्रकाशन गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीलाई समेत बुझाइएको प्रतिवेदनमा कल सेन्टर वैदेशिक रोजगारका क्रममा समस्यामा परेका नागरिकको महत्त्वपूर्ण सहयोगी हुने उल्लेख छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले वैदेशीक रोजगारबारे उठेका समस्या समाधानका लागि मन्त्रालय सधैँ चनाखो रहदै आएको बताए । उहाँले कल सेन्टरको प्रभावकारिता बढेको र कतिपय समाधान गर्न नसकिने समस्यासमेत आउने गरेको बताए ।
बोर्डका कार्यकारी निर्देशक डा द्वारीका उप्रेतीले कल सेन्टरमार्फत समस्या टिपाउने तर समाधान भइसकेपछि पुनःसम्पर्क नगर्दा समाधानको तथ्याङ्क कम देखिएको धारणा राखे।
बोर्डले २०७७ देखि २०८२ सम्म ४५,२४४ जनाले निःशुल्क सीप विकास तालिम प्राप्त गरेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्