काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचन केन्द्रित गतिविधिको लागि इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ ।
‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो,’ सचिवालय बैठकको निर्णयमा भनिएको छ।
यस्तै, बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पद पूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्यको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ।
सबै पालिकामा पार्टीको ‘र्यापिड एक्सन टिम’ गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने, कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्नेलगायतका निर्णय बैठकले गरेको बुर्लाकोटीले जानकारी दिए । यस्तै, रास्वपाले सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन आह्वान समेत गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्