Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सातौँ लुम्बिनी महोत्सव सम्पन्न, १२ करोडको कारोबार

सातौँ लुम्बिनी महोत्सव सम्पन्न, १२ करोडको कारोबार
विज्ञापन
Advertisement

देवदह (रुपन्देही)। चेम्बर अफ कमर्स तथा उद्योग व्यापार सङ्गठन, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित सातौँ लुम्बिनी महोत्सव सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ यही मङ्सिर ३ देखि सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालित महोत्सव मङ्सिर २१ गते समापन भएको हो ।

महोत्सवमा करिब रु १२ करोड बराबरको कारोबार भएको जिल्लास्थित चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले जानकारी दिए  । उनका अनुसार महोत्सव एक लाख २० हजार दर्शकले अवलोकन गरेका छन् । संयोजक सचिन रोक्काले आगामी दिनमा यस्ता महोत्सव सरकारले स्वामित्व लिएर आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसमा निजी क्षेत्र सहभागी हुने बताए।

“महोत्सव सञ्चालनका लागि ठूलो रकम अस्थायी संरचना निर्माणमा खर्चिनुपर्ने बाध्यता छ”, उनले भने “स्थायी संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्छ ।” अध्यक्ष रोक्काले भारतीय पर्यटकको सङ्ख्या बढाउन र धेरै खर्च गर्ने वातावरण बनाउन कम्तीमा १० लाख भारु रुपैयाँ लिएर नेपालमा आउन दिनुपर्ने माग गरे । संस्थाका वरिष्ठ उपाध्यक्ष राममिलन यादवले महोत्सव सफल बनाउन साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्तगरे। उनले चेम्बर अफ कमर्स निजी क्षेत्रको क्रियाशील र सशक्त संस्था भएको बताए । महोत्सवको एक समारोहकाबीच समापन गरिएको छ । समारोहमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले मण्डप बनाउनु ठूलो कुरा नभए पनि मण्डप निर्माणपछि महोत्सवबाहेक अन्यबेला स्थान कत्तिको प्रयोग हुन्छ भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

“मण्डप बनाएपछि वर्षमा एकपटक महोत्सव सञ्चालन गरेर मात्रै पुग्दैन, अन्य कार्यक्रम पनि गरिरहनुपर्छ”, उनले भने । मन्त्री कार्कीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानका लागि प्रदेशस्तरबाट पहल भइरहेको बताए।

नेपालमा सयभन्दा ठूला दरका भारु नोट चलाउन भारतीय केन्द्रीय बैंक स्वीकृति दिनु खुसीको विषय भएको उनको भनाइ छ । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवारले मण्डपको समस्या समाधानका लागि अघि बढ्न अर्थमन्त्री धनेन्द्र कार्कीलाई आग्रह गरे।उनले मन्त्री कार्कीलाई भने, “यो समस्या समाधान गर्न म आग्रह गर्दछु, हामीले के गर्नुपर्छ, यहाँलाई साथ दिन्छौँ ।” युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयले अहिलेको पिँढीले मुलुकमा परिवर्तन ल्याउने विश्वासका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए।
उनले पर्यटन र खेलकुदमार्फत मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सकिने धारणा राखे । मन्त्री पाण्डेयले महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याएको बताए ।
नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरेलले हरेक हिसाबले सातौँ लुम्बिनी महोत्सव सफल भएको बताए । उनले निजी क्षेत्रको मनोबल उठाउनुपर्नेमा जोड दिए ।

चेम्बर अफ कमर्स, रुपन्देहीका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले भैरहवामा स्थायी मण्डपको अत्यन्तै आवश्यकता रहेको बताए । उनले यसमा प्रदेश सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवमा दर्शकको निःशुल्क प्रवेशका लागि स्थायी मण्डपको व्यवस्था हुनुपर्ने बताए । पूर्वअध्यक्ष अनिलकुमार ज्ञवालीले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि समग्र लुम्बिनी प्रदेशले नेतृत्व गर्नुपर्ने बताए।।
यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको जलपरी र फिस टनेल थिए । यस्तै, महोत्सवमा राष्ट्रिय, घरेलु तथा साना उद्योगको उत्पादन, अटो, बैंक तथा वित्तीय संस्थालगायतको प्रवर्द्धन गरिएको थियो । महोत्सवले भैरहवा र यस आसपासको बजार चलायमान बनाउन कोशेढुङ्गा सावित भएको आयोजकको दाबी छ । महोत्सवमा ३०० स्टल रहेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit