काठमाडौं। इन्ड्राइभ आइसिटी अवार्ड २०२५ का विजेताहरूसँग सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अन्तर्क्रिया गरेका छन्।
आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खरेलले विजेताहरूका अनुभव, सुझाव तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि गर्नुपर्ने सहजीकरणका विषयमा छलफल गरेका हुन्।
करिब डेढ घण्टा विजेताहरूका धारणा सुनेपछि मन्तव्य राख्दै मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, अन्य मन्त्रालयसँग समन्वय र सहकार्यका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्पर्क मन्त्रालयको भूमिकामा काम गर्ने खरेलले बताए ।
‘डिजिटल नेपालको स्पष्ट रोडम्याप तयार पारेर मुलुकलाई डिजिटल युगतर्फ अगाडि बढाउन खोजिरहेका छौं,’ मन्त्री खरेलले भने, ‘यसको भविष्य भनेकै सूचना प्रविधि क्षेत्रमा योगदान गरिरहेका तपाईंहरूजस्ता व्यक्ति तथा संस्थाहरू हुन्।’ छलफलका क्रममा अवार्ड विजेताहरूले सार्वजनिक सेवा प्रवाहमा प्रविधिको अधिकतम प्रयोग गर्न, डिजिटल पूर्वाधार विकासमा लगानी बढाउन, आईटीसम्बन्धी नीति तथा कानुनहरू समयानुकूल संशोधन गर्न, देशभर गुणस्तरीय र किफायती कनेक्टिभिटी सेवा सुनिश्चित गर्न तथा अनुसन्धान र विकास (आरएन्डडी) लाई प्रोत्साहन गर्न सरकारलाई सुझाव दिएका छन् ।
अन्तर्क्रियामा आइसिटी अवार्ड २०२५ का विजेताहरूसँगै अवार्डका जुरी सल्लाहकारहरू, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेल, दूरसञ्चार विज्ञ आनन्दराज खनाल तथा जुरी सदस्यहरू नेपाल खुला विश्वविद्यालयका डा.भोजराज घिमिरे, सञ्चार मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, दूरसञ्चार विज्ञ विशालमणि उपाध्याय र राष्ट्रिय आविष्कार केन्द्रका डिजिटल हेल्थ टिम लिड सञ्जय पौडेललगायतको उपस्थिति थियो ।
दशौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले गत पुस ४ गते सम्पन्न भएको हो । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्टार्टअप, नवप्रवर्तनकर्ता, व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।

















प्रतिक्रिया दिनुहोस्