Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

वीरगञ्जमा साँझ ६ बजेसम्म लम्बियो कर्फ्यू, सामाजिक सद्भाव कायम राख्न आह्वान

वीरगञ्जमा साँझ ६ बजेसम्म लम्बियो कर्फ्यू, सामाजिक सद्भाव कायम राख्न आह्वान
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेपछि सुनसान भएको वीरगञ्जको घण्टाघर आसपासको क्षेत्र । तस्बिर : हिमाल लम्साल / रासस
विज्ञापन
Advertisement

काठमाडौं । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ। धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच उत्पन्न तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो । प्रशासनले १ बजेसम्म जारी गरेको कर्फ्यू समय पुनः थप गरी साँझ ६ बजेसम्म पुर्‍याएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको कर्फ्यू आदेशमा वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने उल्लेख छ ।

यसैबीच, पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयलाई सामाजिक सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो ।

नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पछिल्लो समय वीरगञ्जमा देखिएको समस्यालाई दुवै समुदाय मिलेर टुङ्गाउनुपर्ने धारणा व्यक्त गरे । ‘समाजमा आगो लगाउनु कुनै पक्षको हितमा हुँदैन । त्यसैले सबैले एकापसमा मिलेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसर हुन जरुरी छ,’ उनले भने, ‘सदियौँदेखि चल्दै आएको सद्भावलाई कायम राखेर शान्ति अमनचयन गर्न आह्वान गर्दछु ।’ राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले हिन्दू पुरोहित र मुस्लिम धर्मगुरु मौलानाको अग्रसरतामा सामाजिक सद्भाव कायम गरेर यसको दीर्घकालीन समस्याको समाधान गर्नुपर्ने बताए । ‘वीरगञ्जमा विगत दुई÷चार वर्षदेखि देखिएको यो समस्या समाधान गर्नका लागि सबै पक्ष हातेमालो गरेर अघि बढ्न जरुरत भइसकेको छ,’ उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले पनि हाल यहाँ देखिएको समस्या मौलिक नभएर अन्य कुनै ठाउँको सिको गर्ने प्रवृत्तिले पनि समस्या उब्जाउने गरेको गुनासो गरे । जनता समाजवादी पार्टी (जसपा) का युवा नेता तबरेज अहमदले विदेशी मुलुकमा भएको कुनै घटनामा आधारित भएर वीरगञ्जमा विरोध प्रदर्शन लगायतका गतिविधि गर्न नहुने धारणा व्यक्त गरे । ‘अन्य मुलुकमा भएका घटनामा आधारित भएर वीरगञ्जमा विभिन्न प्रकारमा विरोध र प्रदर्शनीका गतिविधि गर्दा यहाँ निकै अप्ठेरो परिरहेको छ । वीरगञ्जलाई शान्तिक्षेत्र कायम गर्न सबैसँग अनुरोध गर्दछु ।’

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै निकायसँग समन्वय र सहकार्य गरेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसरता लिँदै आइरहेको बताएका छन् । ‘धार्मिक तथा सामाजिक युद्धले कसैलाई पनि फाइदा पुग्दैन । त्यसैले सबैले मिलेर एकताबद्ध हुन र शान्ति कायम गर्न सहयोग गर्न सबैलाई अनुरोध गर्दछु ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit