काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले आज एकवर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
केनद्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत बोलकबोल हुने जनाएको छ । राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ भने यसको सावाँ आगामी २०८३ पुस ३० गते र ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने बताइएको छ ।
ऋणपत्रको परिपक्व मितिअगावै सोबापतको रकम फिर्ता नहुने पनि केन्द्रीय बैंकले स्पष्ट गरेको छ । पुस १४ यता मात्र केन्द्रीय बैंकले नौपटक ऋणपत्र निष्कासन गरिसकेको छ। यसअघि राष्ट्र बैंकले पुस १४ मा पहिलो पटक एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो । त्यसयता पुस १६ मा पनि एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ बाट २५ अर्ब रुपैयाँ, पुस २० मा २५ अर्बकै ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ र पुस २२ मा २५ अर्बको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ निष्कासन गरिसकेको छ।
साथै, केन्द्रीय बैंकले यसलाई निरन्तरता दिँदै पुस २३ मा २० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ङ’, पुस २४ मा एकवर्षे अवधिकै ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘च’ अन्तर्गत १० अर्ब रुपैयाँ र सोमबार (पुस २८) समेत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘छ’ उपकरण प्रयोग गरी २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो। मंगलबार मात्र ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ज’ उपकरण प्रयोग गरी २० अर्ब झिकेको राष्ट्र बैंकले आज फेरी २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको हो ।
पछिल्लो समय राष्ट्र बैंकले पुषदेखि बैंकिङ प्रणालीमा रहेको तरलतालाई व्यवस्थापन गर्न लगातार जसो ऋणपत्र जारी गर्दै लामो अवधिका लागि रकम झिक्दै आएको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्