काठमाडौं। नेपाली कांग्रेस विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापासहितका पदाधिकारी बिहीबार दिउँसो निर्वाचन आयोगमा पुगेका छन्।
ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले विशेष महाधिवेशनका निर्णयको बारेमा आजै निर्वाचन आयोगमा जानकारी गराउने नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । नवनिर्वाचित पहिलो केन्द्रीय कार्यसमितिको बैठकपछि थापा सहित उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत पदाधिकारी पार्टीको विवरण अद्यावधिक गराउन आयोग गएका हुन् ।
केन्द्रीय समिति बैठकले पार्टीको सबै विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो । बैठकबाट पार्टीको आधिकारिक निर्णय र पत्रहरूमा शेरबहादुर देउवाको नाम हटाएर सभापति गगन थापाको हस्ताक्षर राख्ने निर्णय पनि भएको छ। साथै, बैठकले देवराज चालिसेलाई प्रवक्ता तोकेको छ। सोहीअनुसार निर्वाचन आयोगलाई विवरण बुझाउन थापाको टिम कान्तिपथ पुगेका हुन्।
गत पुस २७ गतेदेखि जारी विशेष महाधिवेशन पक्षधरको आह्वानमा भएको महाधिवेशनले आजै बिहान थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । पुस ३० गते राती सम्पन्न विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा भएको थियो। पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मासँगै पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका थिए । यस्तै, पार्टीको सहमहामन्त्री डा. डिला सङ्ग्रौला पन्त, प्रकाश रसाइली स्नेही , बहादुरसिहं लामा, उदयशम्शेर राणा, मुक्ताकुमारी यादव,फर्मुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा निर्वाचित भएका छन्।
यसैसन्दर्भमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको विधान उल्लङ्घन हुनेगरी कामकाज गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीबाट निष्काशन गरेको थियो ।
केन्द्रीय समितिको उक्त कारवाहीपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ। यतिबेला दुई धारमा विभाजित कांग्रेसमध्ये शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई पत्राचार गरिसकेको छ । तर, विशेष महाधिवेशन पक्षका सभापतिले भने आफूहरु नै आधिकारीक कांग्रेस भएको दाबी गरेका छन् । सो विवाद बढेपछि कांग्रेसका दुवै पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग पुगेका छन् ।

















प्रतिक्रिया दिनुहोस्