Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आजबाट बैंकहरूले दैनिक स्थायी निक्षेप सुविधा पाउने, भोलिपल्टै साँवा–ब्याज फिर्ता

आजबाट बैंकहरूले दैनिक स्थायी निक्षेप सुविधा पाउने, भोलिपल्टै साँवा–ब्याज फिर्ता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थालाई दैनिक रूपमा स्थायी निक्षेप सुविधा (एसडीएफ) उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै नयाँ व्यवस्था बुधबारदेखि लागू हुने जनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकका अनुसार अब ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र स्थायी निक्षेप सुविधा उपयोग गर्न सक्नेछन्। यसरी राखिएको निक्षेपको साँवा र ब्याज रकम भने भोलिपल्ट अपराह्न ३ बजेपछि सम्बन्धित संस्थाको खातामा जम्मा गरिनेछ।

सूचनामा भनिएको छ, ‘यस बैंकको मिति २०८३ जेठ १२ को निर्णयानुसार स्थायी निक्षेप सुविधा मिति २०८३ जेठ १३ देखि लागू हुने गरी यस बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र उपलब्ध गराइनेछ।’ यो व्यवस्थासँगै बैंकहरूले दैनिक रूपमा अतिरिक्त तरलता राष्ट्र बैंकमा राख्न पाउनेछन् र भोलिपल्टै साँवा तथा ब्याज प्राप्त गर्नेछन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको थियो। अहिले सोही व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।

यसअघि राष्ट्र बैंकले २०८० फागुन १ गतेदेखि स्थायी निक्षेप सुविधा सुरु गरेको थियो। त्यसअघि बैंकहरूलाई स्थायी तरलता सुविधा मात्र उपलब्ध थियो, जसअन्तर्गत बैंकहरूले आवश्यक पर्दा राष्ट्र बैंकबाट तरलता लिन सक्थे र त्यसबापत निश्चित ब्याज तिर्नुपर्थ्यो।

स्थायी निक्षेप सुविधा भने यसको विपरीत व्यवस्था हो। बैंकहरूसँग अतिरिक्त तरलता भएको अवस्थामा उनीहरूले उक्त रकम राष्ट्र बैंकमा ‘पार्किङ’ गर्न सक्छन् र त्यसबापत निश्चित ब्याज प्राप्त गर्छन्। बैंकहरूले मापदण्डअनुसार प्रस्ताव गरेपछि राष्ट्र बैंकले निक्षेप स्वीकार गर्न अस्वीकार गर्न पाउँदैन।यो सुविधा राष्ट्र बैंकले ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि’ मार्फत सञ्चालन गर्दै आएको छ।

यसअघि सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्र यस्तो सुविधा उपलब्ध थियो। पछि सार्वजनिक बिदाको व्यवस्थाका कारण व्यवहारमा मंगलबार र बिहीबार मात्र उपलब्ध हुँदै आएको थियो। अब भने दैनिक रूपमा सुविधा उपलब्ध हुने भएको छ।

स्थायी निक्षेप सुविधामा राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् २.७५ प्रतिशत ब्याज उपलब्ध गराउँछ।

हाल बैंकिङ प्रणालीमा कर्जाको माग कमजोर भएकाले तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। अन्तरबैंक सापटी दर तथा निक्षेपको ब्याजदर समेत निकै न्यून हुने अवस्था देखिएको छ। यस्तो अवस्थामा बजार ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल झर्ने जोखिम बढेपछि राष्ट्र बैंकले दैनिक एसडीएफ व्यवस्था लागू गरेको हो।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को जेठ १२ गतेसम्म १२२ कार्यदिनमा बैंकहरूले कुल ३४७ खर्ब ७९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्थायी निक्षेप सुविधा उपयोग गरिसकेका छन्। हाल राष्ट्र बैंकमा ५७ अर्ब ५० करोड रुपैयाँ निक्षेप रहेको छ। निक्षेप अवधि पूरा भएपछि उक्त रकम ब्याजसहित बैंकहरूलाई फिर्ता हुने र पुनः निक्षेप राख्न सकिने व्यवस्था छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit