काठमाडौं । नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा आयोजित एक प्रतिष्ठित पाककला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कृत भएका छन्। ‘द गोल्ट एन्ड मिलो मिडल ईस्ट २०२६ अवार्ड’ समारोहमा व्यक्तितर्फ श्रेष्ठसहित पाँच जना सेफलाई सम्मान गरिएको हो।
उनीहरूलाई २ फेब्रुअरी २०२६ मा युएईको प्रतिष्ठित होटल एटलान्टिस द रोयलमा आयोजित विशेष समारोहबीच अवार्ड प्रदान गरिएको थियो।
श्रेष्ठले ‘फ्युचर ग्रेट अफ द इयर’ विधामा सर्टलिस्टमा परेका प्रतिस्पर्धीहरूमध्ये चार जनालाई उछिन्दै उपाधि जितेका हुन्। उक्त विधामा श्रेष्ठसहित पाँच जना सेफ सर्टलिस्टमा रहेका थिए। हाल उनी युएईस्थित दुई मिसेलिन स्टार प्राप्त रेस्टुरेन्ट ‘रो अन ४५’ मा हेड सेफका रूपमा कार्यरत छन्।
समारोहमा विभिन्न विधाअन्तर्गत १२ वटा रेस्टुरेन्टहरू पनि पुरस्कृत भएका थिए। विश्वका प्रतिष्ठित फाइन डाइनिङ सेफहरूको सूचीमा स्थान बनाउन सफल श्रेष्ठले मिसेलिन गाइड २०२५ मा लगातार दोस्रो वर्ष दुई मिसेलिन स्टार कायम राख्दै आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन्। उनको उपलब्धिले अन्तर्राष्ट्रिय पाककला क्षेत्रमा उच्च स्तरको नवप्रवर्तन र गुणस्तर कायम राख्ने नेपाली प्रतिभाको क्षमता उजागर गरेको छ।
बेलायतको युनिभर्सिटी अफ इस्ट एंग्लियाबाट अध्ययन पूरा गरेका श्रेष्ठ नेपालका प्रतिष्ठित व्यावसायिक घराना चितवन को–ई समूहका निर्देशक राजेशबाबु श्रेष्ठका छोरा हुन्।
परिवारको व्यवसायिक पृष्ठभूमिभन्दा फरक बाटो रोज्दै उनले पाककला क्षेत्रमा करिअर बनाएका हुन्। विश्वविद्यालय शिक्षा सकेपछि उनले ‘ले म्यान्वार ओ क्वा सैजों’ र मार्कस वेयरिङको ‘द स्क्वायर’ जस्ता प्रसिद्ध मिसेलिन स्टार रेस्टुरेन्टहरूमा प्रशिक्षण लिए। त्यसपछि लन्डन, सिंगापुर र नर्वेका चर्चित रेस्टुरेन्टहरूमा अनुभव बटुल्दै उनी हाल ‘रो अन ४५’ मा आबद्ध भएका हुन्।















प्रतिक्रिया दिनुहोस्