Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

रुपन्देही–४ का मतदाता भन्छन्ः हामीलाई विकासप्रेमी नेता चाहिएको छ

रुपन्देही–४ का मतदाता भन्छन्ः हामीलाई विकासप्रेमी नेता चाहिएको छ
विज्ञापन
Advertisement

देवदह । ‘भैरहवाबाट बुटवल हुँदै मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य समस्या भनेकै बाटोको हो, सडक राम्रो नहुँदसम्म जीवन सहज हुँदैन’, रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा पर्ने मर्चवारी–३ सिसो सेमराका ओमप्रकाश कान्दुले भने । कान्दुजस्ता रुपन्देही–४ का मतदाताको आमसमस्या सडककै हो । एम्बुलेन्स र दमकल ल्याउन पनि समस्या हुने गरेको उनको गुनासो छ ।

विज्ञापन
Advertisement
Advertisement

त्यसबाहेक बेरोजगारी यहाँको प्रमुख समस्या हो । यस क्षेत्रमा नयाँ उद्योग स्थापना गरी स्थानीय जनशक्तिलाई रोजगारी उपलब्ध गराउने खालको नेता आवश्यक भएको उनको भनाइ छ ।

‘त्यति मात्रै होइन, किसानले समयमै मलखाद नपाएको अवस्था छ, मलका लागि अहिले पनि सीमापारी भारत जानुपर्ने बाध्यता छ, सिँचाइको सुविधा पनि छैन ।’

कान्दु यसपटक रुपन्देही–४ मा विकास गर्नसक्ने र यस क्षेत्रलाई अगाडि बढाउनसक्ने उम्मेदवारलाई मतदान गर्ने सोचमा रहेका छन् । उनी भन्छन, ‘यो क्षेत्रबाट उम्मेदवारी दिनुभएकामध्ये यहाँको विकास गर्नसक्ने उम्मेदवारलाई जनताले मतदान गरेमात्रै विकास हुन्छ । उम्मेदवारलाई चिनेर मतदान गर्नुपर्छ । निर्वाचन जितेर गएपछि आफूले जितेका क्षेत्रमा नफर्किनेलाई किन जिताउने ?

यो क्षेत्र र जनतालाई हेर्ने उम्मेदवार चाहियो । जितेपछि काम गर्छु भन्ने आश्वासन मात्रै पाइयो । जितेर गएपछि हामीलाई उहाँहरुले चिन्दै चिन्नुहुन्न ।’

मर्चवारी–३ रायपुरका साधुसरण यादव रुपन्देही क्षेत्र नं ४ मा विशेषगरी सडक, किसानलाई समयमै मलखाद र सिँचाइको सुविधा उपलब्ध नहुनु, सुविधासम्पन्न अस्पताल नहुनु, विद्यालयमा भौतिक पूर्वाधारको अभावजस्ता मुख्य समस्या रहेको बताए । ‘विगतमा जितेर गएका जनप्रतिनिधिले खासै विकासका काम गर्न सक्नुभएन । यसपटक निर्वाचनमा मतदान गरेर शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको व्यवस्थाका साथै यस क्षेत्रको विकास गर्नसक्ने उम्मेदवारलाई जिताउँछौँ’, उनले भने । कोटहीमाई गाउँपालिका–७ परसहवाका मख्खन लोधले यस क्षेत्रमा समस्याको चाङ रहेको बताउनुभयो । उहाँले समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।

मर्चवारी गाउँपालिका–सिसो सेमराका श्याम मोहन यादवले पनि मुख्य गरी यहाँ सडककै समस्या रहेको बताए ।

‘सडकमा खाल्डाखुल्डी छ, जसले गर्दा सवारी दुर्घटना बढेको छ । विद्यालयमा पनि विभिन्न समस्या छ । सुविधासम्पन्न अस्पताल पनि छैन । यहाँबाट निर्वाचित जनप्रतिनिधिले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारजस्ता क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्छ’, उनले भने।

मायादेवी गाउँपालिका–४ का चन्द्रशेखर गुप्ताले यो क्षेत्रमा मुख्य गरी सडक पूर्वाधारकै समस्या रहेको बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने माग गरे ।

मर्चवारी–१ का श्रीराम यादवको भनाइ पनि समान नै छ । उनले भने , ‘जुन उम्मेदवारले खाद्य, सिँचाइ, सडकको व्यवस्था गर्न सक्नुहुन्छ, त्यही उम्मेदवारलाई नै यसपटक जिताउने हो ।’

सम्मरीमाई गाउँपालिका–६ असुरैनाका मोहम्मद असलम खाँले शिक्षा, स्वास्थ्य, सडक, कृषि क्षेत्रमा नै मुख्य समस्या रहेको बताए । मर्चवारी–१ कै मेनका यादवले काम नगर्ने उम्मेदवारलाई किन जिताउने भन्दै प्रश्न गरे । उनले शिक्षा, सडक, कृषि, रोजगारीमा ध्यान दिने जनप्रतिनिधि आवश्यक रहेको बताए ।

रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा ६६ हजार ६२ पुरुष, ५० हजार ११० महिला गरी एक लाख १६ हजार १७२ मतदाता छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ बाट २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यहाँ पूर्वमन्त्रीदेखि पूर्वप्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावी मैदानमा हु । रुपन्देही–४ मा सात जना स्वतन्त्र र राजनीतिक दलबाट १५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

विसं २०७९ मा यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित हुनुभएको थियो । विसं २०७४ नेपाली कांग्रेसका प्रमोदकुमार यादव निर्वाचित हुनुभएको थियो भने २०७० सालमा तराई–मधेस लोकतान्त्रिक पार्टीबाट शुक्ला नै निर्वाचित भएका थिए । विसं २०६४ मा भने मधेसी जनअधिकार फोरमका उम्मेदवार ओमप्रकाश यादव निर्वाचित भएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit