चितवन । सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा जिनाइन (हरियो केरा) बिक्री नभएर चराले खाने अवस्था आएकोमा हाल उक्त समस्या नभएको बताए । उनका अनुसार विगतमा चिनीचम्पाले बजार पाए पनि मूल्य राम्रो पाउन कठिन भएको थियो। अहिले जिनाइन केरा प्रतिकोसा तीन रुपैयाँले बिक्री भइरहेको उनको भनाइ छ । गत दसैँ तिहारलगायत चाडपर्वमा जिनाइन केरा बिक्री नहुँदा किसान समस्यामा परेको भए पनि अहिले भने बिक्री बढेको उनले सुनाए ।
चिनीचम्पा केराले पनि राम्रो मूल्य पाएको उनले जानकारी दिए । यो केरा अहिले घरीको ६०० रुपैयाँमा बिक्री भइरहेको छ। स्वदेशमा उत्पादन भएको केराले बजार र मूल्य पाउँदा किसानले राहत पाएको उनको भनाइ छ।
नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्त सरकारले जैविक खाद्य सुरक्षामा कडाइ गर्दा आयातित केरा रोकिएको छ। जसका कारण नेपाली उत्पादनले बजार पाउन थलेको हो। उनले भने, ‘नेपालमा टिआर फोर नामक रोग केरामा देखिएपछि क्वारेन्टिनमा कडाइ गर्न थालेको छ।’ गत मङ्सिर २ गतेदेखि आयातित केरामा क्वारेन्टिनमा कडाइ गर्न थालिएको उनले बताए ।
क्वारेन्टिनले जैविक खाद्य सुरक्षामा कडाइ नगर्दा गएको दसैँ र तिहारमा मात्रै नेपालमा केरा उत्पादन गर्ने किसानले ६० करोड बराबरको नोक्सानी बेहोर्नु परेको उनले जानकारी दिए । ‘अहिले केरा उत्पादन गर्ने किसानमा उत्साह बढेको छ। यही अवस्था रहेमा एक वर्षभित्र केरामा नेपाल आत्मनिर्भर बन्छ,’ उनले भने । जैविक खाद्य सुरक्षामा कडाइ गरेपछि विस्थापित हुने अवस्थाबाट किसान थपिने अवस्थामा आएको उनको भनाइ छ ।
नेपालमा उत्पादित केराले बजार पाउँदै गर्दा उपभोक्तामा भने चर्को मूल्य तिर्न बाध्य परेको गुनासो आएको बताउँदै उनले यस विषयमा सरोकारवालाहरूले अनुगमन गर्न अनुरोध गरे । उनले भने, ‘मध्यस्तकर्ताबाट उपभोक्ता ठगिएको सूचना पाएका छौँ । यसलाई अनुगमन जरुरी छ ।’ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मी अहिले जिल्लामा उत्पादित केराले बजार र मूल्य नपाउने समस्या हटेको बताए । उनका अनुसार हाल जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । जसबाट वार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ ।
राज्यले क्वारेन्टिनमा जैविक खाद्य सुरक्षालाई निरन्तर कडाइ गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न लागिपरेको उनले बताए। यहाँ उत्पादित केरा चितवनसहित काठमाडौं, पोखरा, भैरहवालगायत मुख्य सहरहरूमा जाने गरेको छ । रासस







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्