झापा। केही वर्षअघिसम्म विदेश पलायन, बसाइँसराइ र कृषि पेशाप्रतिको घट्दो आकर्षणका कारण रित्तिँदै गएका भोजपुरका गाउँहरूमा अहिले फेरि चहलपहल बढ्न थालेको छ। बाँझो बन्दै गएका खेतबारीहरूमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार भएसँगै जिल्लाका ग्रामीण बस्तीहरूले नयाँ आर्थिक र सामाजिक ऊर्जा प्राप्त गरेका छन्।
कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवा तथा विदेश जान नपाएका परिवारहरूले खेतीलाई पुनः रोजगारीको माध्यम बनाएपछि अकबरे खुर्सानी भोजपुरको प्रमुख नगदेबालीका रूपमा स्थापित भएको हो। पौवादुङ्मा गाउँपालिका, अरुण गाउँपालिका तथा भोजपुर नगरपालिकाका विभिन्न क्षेत्रमा अहिले व्यावसायिक रूपमा अकबरे खेती भइरहेको छ।
यस अभियानको नेतृत्व स्थानीय कृषक तथा उद्यमी जीवन राउतले गरेका छन्। कोभिडअघि ट्राभल व्यवसायमा संलग्न रहेका राउत महामारीपछि गाउँ फर्किएर अकबरे खुर्सानीको व्यावसायिक उत्पादन र बजारीकरणमा जुटेका हुन्। उनले किसानलाई उत्पादनको बजार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएपछि गाउँमा अकबरे खेती विस्तार हुन थालेको बताइन्छ।
किसानहरूका अनुसार तीन महिनामै बिक्रीयोग्य उत्पादन दिन सक्ने भएकाले अकबरे खेतीले परम्परागत बालीको तुलनामा राम्रो आम्दानी दिन थालेको छ। पहिले मकै, कोदो वा धानबाट सीमित आम्दानी हुने जमिनबाट अहिले लाखौं रुपैयाँ बराबरको उत्पादन हुन थालेको उनीहरू बताउँछन्।
हाल भोजपुरमा करिब ३ हजार ५ सय परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अकबरे खेतीमा आबद्ध छन्। कतिपय किसानले १०० रोपनीसम्म क्षेत्रफलमा व्यावसायिक खेती गरिरहेका छन्। जिल्लाबाट वार्षिक २५० देखि ३०० टनसम्म अकबरे उत्पादन हुने अनुमान गरिएको छ।
भोजपुरको अकबरे अहिले चाउचाउ तथा अचार उद्योगहरूको प्रमुख कच्चा पदार्थ बनेको छ। वाइवाइ डाइनामाइट, करेन्ट नुडल्सलगायत उद्योगहरूले यसको प्रयोग गर्दै आएका छन्। यसले जिल्लालाई खुकुरीको पहिचानसँगै ‘अकबरे हब’ का रूपमा पनि चिनाउन थालेको छ।
यद्यपि उत्पादन बढेसँगै मूल्यमा गिरावट आएको किसानहरू बताउँछन्। केही वर्षअघि प्रतिकिलो ४०० रुपैयाँसम्म पुगेको अकबरेको मूल्य हाल १५० देखि १६० रुपैयाँमा झरेको छ। ढुवानी खर्च, भण्डारण अभाव र सीमित बजार पहुँच अझै चुनौतीका रूपमा रहेका छन्।
यी समस्या समाधानका लागि राउतले गाउँमै कोल्ड स्टोर र खुर्सानी पाउडर उद्योग स्थापना गर्ने योजना अघि सारेका छन्। उत्पादन प्रशोधन र भण्डारण गर्न सके मूल्य स्थिर राख्न र निर्यात बढाउन सकिने उनको विश्वास छ।
भोजपुरको अकबरे यसअघि बेलायत, अमेरिका र क्यानडासम्म निर्यात भइसकेको छ भने हाल भारततर्फ पनि निर्यात सुरु भएको छ। अमेरिकी कम्पनीहरूले समेत अकबरे खरिदमा चासो देखाउन थालेको र केही व्यवसायीहरूले प्याकेजिङ गरेर काँचो खुर्सानी विदेश पठाउन थालेको राउतको भनाइ छ।
अकबरे खेतीको सफलतापछि राउतले अब १०० रोपनी क्षेत्रफलमा ड्रागन फ्रुट खेती विस्तार गर्ने योजना बनाएका छन्। साथै कागती, अदुवा तथा अन्य नगदेबालीसँगै पशुपालन र मल उत्पादनलाई एकीकृत कृषि प्रणालीका रूपमा विकास गर्ने तयारी भइरहेको छ।
अकबरे खुर्सानीको व्यावसायिक खेतीले भोजपुरमा आर्थिक समृद्धिसँगै सामाजिक परिवर्तन पनि ल्याएको स्थानीयहरूको भनाइ छ। रित्तिँदै गएका गाउँहरूमा युवाहरू फर्किन थालेका छन्, बाँझो जमिन पुनः उत्पादनमा आएको छ र कृषि रोजगारीको आकर्षक विकल्प बन्दै गएको छ। अन्य जिल्लाका लागि पनि भोजपुरको यो कृषि मोडेल उदाहरणीय बन्न थालेको छ।तेजन खड्का















प्रतिक्रिया दिनुहोस्