काठमाडौं । कांग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम साताको जेनजी आन्दोलनको सन्दर्भमा देशमा दुई अतिवादी सोच देखापरेको टिप्पणी गरेका छन् ।
बिहीवार सुर्खेतमा आयोजित चुनावी सभामा थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । थापाले जेनजी आन्दोलनलाई स्वीकार नगर्ने र आन्दोलनको जगमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति देशमा देखा परेको भन्दै दुवै सोच अतिवादी भएको धारणा राखे ।
थापाले देशमा अब सरकारको गोलीबाट कुनै नागरिकको ज्यान जान नहुने र कुनै पनि व्यक्तिले नकाब लगाएर सिंहदरबार जलाउने जस्ता गतिविधि गर्न नपाउने अवस्था सिर्जना गर्नुपर्ने बताए । त्यसका लागि चुनावमा जाँदा भदौ २३ र २४ का घटनालाई गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो।
‘यो देशमा अब सरकारको गोलीबाट कुनै निहत्थाको ज्यान जानु हुदैन । यो देशमा अब कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनुहुन्न । यो अवस्था निर्माण गर्नुपर्नेछ। त्यसको लागि हामीले भाद्र २३ र २४ को घटनालाई हेर्नुपर्छ। एउटा प्रवृत्ति छ त्यसले के भन्छ भने, भद्रौ २३ र २४ को घटनालाई उसले इन्कार गर्छ र भन्छ २३ गते अगाडि र २३ गते देश ठीकठाक थियो’ थापाले भने, ‘सबले दूधभात खाएका थिए । केही पनि बिग्रेको थिएन। अर्को प्रवृत्ति छ, जसले बोल्दैन र भन्दैन । तर, २३ र २४ गते बलेको आगोमा पेट्रोल थपेर आफ्नो राजनीतिको स्वार्थको रोटी मात्र सेक्छ । केवल उसले आफ्नो फाइदा मात्र हेर्छ । यो दुइटै अतिवादी सोच हो। यस्तै सोचले भोलि फेरि अर्को दुर्घटना गराउँछ।’
यस्तै, उनले फागुन २१ गतेको चुनावमा केन्द्रित हुँदै गर्दा कांग्रेसले भाद्र २३ र २४ गतेको घटनालाई बिर्सन नहुने बताए । थापाले २०४६ देखिका भ्रष्टाचार प्रकरणहरूको छानबिन गर्न आयोग गठन गर्ने र आयोगले गर्ने गरेको सिफारिस कार्यान्वयन हुबहु गर्ने प्रतिबद्धता उल्लेख गरे । उनले भने,‘मेरै परिवारका कोही सदस्य परेका छन् भने पनि कारबाही गर्छु। यो कांग्रेस सभापतिको हैसियतले भनेको हो ।’
आगामी पाँच वर्षका लागि कुन दलको एजेन्डा के छ भन्ने विषयमा बहस गर्न आफ तयार रहेको उल्लेख गर्दै उनले भने, ‘आओस् नेकपा एमाले, आओस नेपाली कम्युनिस्ट पार्टी, आओस् राष्ट्रिय स्वतन्त्र पार्टी। एउटै मञ्चमा उभिऔं। पाँच वर्ष नेपालका निम्ति हाम्रो सोच के हो ? संकल्प के हो? हाम्रो योजना के हो ? यसको बारेमा छलफल गरौं भन्दाखेरि भट्टिमा बसेर एक अर्कामाथि गाली गरेर बसेका छन् ।’
















प्रतिक्रिया दिनुहोस्