काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्चको अन्त्यका लागि तय भएको आफ्नो चीन भ्रमण स्थगित गरेका छन् ।
उनले इरानसँग जारी ‘अपरेशन एपिक फ्युरी’ का कारण आफू वासिङ्टनमै रहनुपर्ने भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको शिखर सम्मेलन एक महिना जतिका लागि स्थगित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
ह्वाइट हाउसको ओभल अफिसबाट सोमबार जानकारी दिँदै ट्रम्पले भने, ‘अहिले युद्ध चलिरहेको छ। मलाई लाग्छ कमाण्डर–इन–चिफको रूपमा म यहीँ हुनु जरुरी छ।’ ट्रम्पले चीनलाई विश्वको सबैभन्दा महत्वपूर्ण तेल मार्ग स्ट्रेट अफ हर्मुज खुलाउन सक्रिय भूमिका खेल्न दबाब दिइरहेका छन्। इरानले यो मार्ग बन्द गरेपछि विश्व बजारमा तेलको भाउ प्रति ब्यारेल १०० डलर नाघेको छ।
ट्रम्पले फाइनान्सियल टाइम्सलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘चीनले आफ्नो ९०५ तेल यही मार्गबाट पाउँछ, त्यसैले यो खुलाउन उसले पनि मद्दत गर्नुपर्छ।’ उनले शिखर सम्मेलन अघि नै चीनले युद्धपोत पठाएर वा अन्य कूटनीतिक प्रयासबाट सहयोग गर्छ कि गर्दैन भन्ने जान्न चाहेको बताएका थिए। ट्रम्पको यो भ्रमणमा चीनसँगको व्यापारिक सुलहलाई अन्तिम रूप दिने र ताइवान मामिलामा छलफल गर्ने कार्यक्रम थियो। तर युद्धका कारण यी सबै एजेन्डाहरू अहिले अन्योलमा परेका छन्।
फेब्रुअरी २८ मा अमेरिका र इसराइलले इरानका आणविक केन्द्र र नेतृत्वलाई लक्षित गरी गरेको हमलापछि यो युद्ध तेस्रो हप्तामा प्रवेश गरेको छ। इरानको जवाफी आक्रमण र जलमार्ग बन्द गर्दा विश्व अर्थतन्त्रमा मन्दीको खतरा बढेको छ। चीनले हालसम्म अमेरिकी आग्रहमा स्पष्ट जवाफ दिएको छैन। चिनियाँ विदेश मन्त्रालयले भ्रमणको विषयमा ‘सञ्चार भइरहेको’ मात्र बताएको छ।

















प्रतिक्रिया दिनुहोस्