Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

थापाथली, सिनामङ्गल र शान्तिनगरका क्षेत्र अतिक्रमणमुक्त, मनोहरामा १२ वटा डोजरले भत्काउँदै (तस्बिरहरु)

थापाथली, सिनामङ्गल र शान्तिनगरका क्षेत्र अतिक्रमणमुक्त, मनोहरामा १२ वटा डोजरले भत्काउँदै (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । प्रशासनले काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ। अभियानका क्रममा शनिबार काठमाडौं महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली गरिएका छन् । काठमाडौं महानगरपालिका- ११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती शनिबार हटाइएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना डोजर प्रयोग गरी भत्काइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार थापाथली क्षेत्रमा स्थायी संरचना कम भएकाले काम छिटो सम्पन्न भएको थियो भने गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा पक्की घरको सङ्ख्या बढी भएकाले भत्काउने काम राति अबेर मात्र सकिएको थियो ।

सरकारको निर्देशनअनुसार संरचना हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले शनिबार दिनभरि प्रभावित बासिन्दा र सरसामान सुरक्षित रूपमा सार्न सहयोग गरेको थियो । सो क्रमलाई आज पनि निरन्तरता दिइएको छ । बस्ती हटाइए पनि भत्काइएका संरचना र सामग्री अझै सोही स्थानमै छरिएर रहेकाले आवागमनमा केही कठिनाइ भएको स्थानीयले बताएका छन् । महानगरले ती सामग्री हटाउने तथा क्षेत्र सफा गर्ने कार्य पनि क्रमशः अघि बढाइने जनाएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार राजधानीका विभिन्न अतिक्रमित क्षेत्रमा उल्लेख्य सङ्ख्यामा सुकुमवासी परिवार बसोबास गर्दै आएका थिए । प्राधिकरणको तथ्याङ्कअनुसार थापाथलीमा एक सय ४३, गैरीगाउँमा एक सय ६२, गोठाटारमा ७७, शान्तिनगरमा चार सय ७६ तथा मनोहरा टोलमा १३ गरी कुल ८७१ परिवार रहेका छन् ।

सरकारले सार्वजनिक जग्गा संरक्षण तथा नदी किनार क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सहरी सौन्दर्यीकरण, वातावरण संरक्षण तथा दीर्घकालीन सहरी व्यवस्थापनसँग जोडेर अभियान अघि बढाएको हो। यद्यपि, बस्ती हटाउने कामसँगै प्रभावित परिवारको पुनःस्थापना तथा व्यवस्थापनका विषयमा विभिन्न कोणबाट चासो व्यक्त हुन थालेको छ। सरोकार भएका निकायले दीर्घकालीन समाधानका लागि व्यवस्थित बसोबासको विकल्प उपलब्ध गराउनुपर्नेमाग प्रभावितहरुले गरेका छन् ।

कडा सुरक्षा व्यवस्थाबीच १२ वटा डोजरले भत्काउँदै संरचना

यसैबीच, बस्ती हटाउने क्रममा थापाथली, गैरीगाउँ र सिनामङ्गल क्षेत्रमा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभए पनि भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा भने त्यहाँका बासिन्दाले अवरोध गरेका थिए । अवरोधका क्रममा भएको आक्रमणमा परी शनिबार साँझ २२ सुरक्षाकर्मी घाइते भएका छन् । आक्रमणमा परी मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नं २२ दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप ११ जना गरी २२ जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिए । उनका अनुसार मनोहरा सुकुमवासी बस्तीमा घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार भएको थियो। उत्पन्न तनावकाबीच शनिबार रोकिएको कामलाई प्रशासनले आइतबार बिहनैबाट पुनः सुरु गरेको छ । हाल अतिक्रमित स्थानमा बनाइएको संरचनालाई महानगरको नेतृत्वमा कडा सुरक्षा व्यवस्थाबीच १२ वटा डोजर चलाएर भत्काउने कार्य जारी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पुनःस्थापनाको माग

विस्थापित परिवारले बस्ती हटाउने कार्यसँगै आफूहरुको व्यवस्थापन र पुनःस्थापनाको विषयमा पनि सरकारले गम्भीरता देखाउनुपर्ने माग गरेका छन् । सरोकारवाला निकायहरूले केवल बस्ती हटाउनु मात्र समाधान नभएको भन्दै उनीहरूका लागि व्यवस्थित बसोबासको दीर्घकालीन विकल्प खोजिनुपर्नेमा उनीहरुको जोड छ । हाल विस्थापित नागरिकलाई विभिन्न स्थानमा राखिएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit