काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ रहेको थियो। मंगलबार भने प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसरी मंगलबारदेखि शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २१ हजार ८०० रुपैयाँले घटिसकेको छ। तिहारपछि निरन्तर घटिरहेको सुनको मूल्यमा पछिल्ला दिनमा थप तीव्र गिरावट देखिएको हो। तिहारअघि अर्थात् कात्तिक २३ गते सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ३८ हजार ९०० रुपैयाँले सस्तिएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको थियो। बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँ र मंगलबार ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको मूल्यसँग तुलना गर्दा बिहीबारको तुलनामा चाँदी प्रतितोला २२५ रुपैयाँले सस्तिएको छ । मंगलबारको तुलनामा भने चाँदीको मूल्य प्रतितोला ३८० रुपैयाँले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा गिरावट देखिएको छ ।















प्रतिक्रिया दिनुहोस्