Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

३४ सदस्यीय सरकारी टोली र उद्योगी- व्यवसायीसहित निजी क्षेत्रका ५२ प्रतिनिधि लिएर भारत जाँदै प्रधानमन्त्री बालेन

३४ सदस्यीय सरकारी टोली र उद्योगी- व्यवसायीसहित निजी क्षेत्रका ५२ प्रतिनिधि लिएर भारत जाँदै प्रधानमन्त्री बालेन
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार दिउँसो पौने दुई बजे ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रबाट पनि ५२ सदस्यीय टोली सहभागी हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गर्दै मंसिर ६ गते नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत उनी नयाँ दिल्ली प्रस्थान गर्ने जानकारी दिएको हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत ३४ सदस्यीय सरकारी अधिकारी सहभागी हुनेछन्।

सरकारी प्रतिनिधिमण्डलसँगै निजी क्षेत्रबाट उद्योगी व्यवसायीसहित ५२ सदस्यीय टोली पनि भारत जाने भएको छ। भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल, नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्टिज, नेपाल तयारी पोशाक उद्योग संघ ,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान, होटेल एसोसिएसन अफ नेपाल (हान) लगायतका निजी संघसंस्थाका प्रतिनिधि सहभागी हुने छन् ।निजी क्षेत्रका प्रतिनिधिहरू आफ्नै खर्चमा भ्रमणमा सहभागी हुन लागेको परराष्ट्र सचिव अमृतबहादुर राईले बताए। थप केही सञ्चारकर्मी पनि निजी खर्चमै भ्रमण टोलीमा सहभागी हुनेछन्। दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यासँग सम्बन्धित विभिन्न परियोजनाबारे छलफल हुने बताइएको छ ।त्यसैगरी, भ्रमणका क्रममा केही सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत गरिएको छ। यसले नेपाल–भारतबीचको पूर्वाधार तथा ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल–भारत बिजनेस फोरम आयोजना हुने भएको छ। फोरममार्फत भारतीय व्यवसायीलाई नेपालमा लगानीका अवसर र सरकारले अवलम्बन गरेका नीतिगत प्रयासबारे जानकारी गराउनुका साथै उनीहरूका चासो र सरोकारसमेत सम्बोधन गरिने परराष्ट्र सचिव राईले बताए । उक्त छलफल नेपाल–भारतका व्यवसायीका लागि सहकार्य गर्ने सेतु बन्ने सरकारले जनाएको छ। ‘भ्रमणका क्रममा नेपाल इन्डिया बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने तथा उनीहरुका चासो र सरोकारहरु सुन्ने र नेपालको तर्फबाट भारतको थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण एवं प्रयासहरु प्रस्तुत गरिने छ’, सचिव राईले भने,‘ यो कार्यक्रम नेपाली र भारतीय व्यवसायीहरुबीच सहकार्य गर्ने सेतु बन्ने अपेक्षा छ।’

यसैगरी, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै, भारतका विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्नेछन्। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा आधिकारिक दिवाभोज आयोजना गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपाल र भारतबीच साझा सभ्यता, सांस्कृतिक निकटता तथा गहिरो जनस्तरको सम्बन्ध रहिआएको छ। प्रधानमन्त्री शाहको भ्रमणले दुई देशबीचको विद्यमान सम्बन्धको समीक्षा गर्दै पारस्परिक हितका क्षेत्रमा सहयोगात्मक साझेदारीलाई थप सुदृढ बनाउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ। दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit