काठमाडौं । नेपालको जनकपुरधाम र भारतको अयोध्याधाम अब प्रत्यक्ष रेल सेवामार्फत जोडिने भएका छन्।
भारतको रेल मन्त्रालयले दुई देशका धार्मिक तथा सांस्कृतिक सहरबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएसँगै सीमापार रेल सम्पर्क विस्तार हुने भएको हो । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जानेछन् भने मंसिर ७ गते अयोध्याबाट जनकपुरका लागि पहिलो रेल सञ्चालन हुने जनाइएको छ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेल सेवा प्रारम्भिक चरणमा सातामा एक पटक सञ्चालन हुनेछ । निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि रेल छुट्नेछ भने सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि फर्कनेछ । भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुने रेलले जयनगर, मधुवनी, शिशो, सीतामढी, रक्सौल, गोरखपुर बस्ती र मनकापुरलगायतका स्टेसनमा व्यावसायिक बिसौनी गर्नेछ ।
जनकपुर माता सीताको जन्मभूमि र अयोध्या भगवान् रामको जन्मभूमि मानिने भएकाले यो सेवाले रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । साथै, तीर्थयात्रा, पर्यटन तथा दुई देशका नागरिकबीचको आवागमन सहज बनाउन पनि रेल सेवा उपयोगी हुने विश्वास गरिएको छ । प्रारम्भिक चरणमा भारतीय पक्षले रेल सञ्चालन र टिकट दर निर्धारण गर्ने जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्