काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारतको राजकीय भ्रमणका क्रममा सहभागी हुने नेपाली व्यवसायीहरूको प्रतिनिधिमण्डल (बिजनेस डेलिगेसन) सदस्यमा व्यवसायी दीपक थापा मनोनीत भएका छन्।
परराष्ट्र मन्त्रालयअन्तर्गत शिष्टाचार महाशाखाले मंसिर ३ गते पत्रमार्फत थापालाई बिजनेस डेलिगेसन सदस्यका रूपमा मनोनयन गरेको जानकारी दिएको हो। मन्त्रालयले नेपाल सरकारलाई कुनै पनि आर्थिक दायित्व नपर्ने गरी उनलाई प्रतिनिधिमण्डलमा सहभागी गराउने निर्णय गरेको जनाएको छ।
प्रधानमन्त्री शाह मंसिर ६ देखि ७ गतेसम्म भारतको राजकीय भ्रमणमा जाने कार्यक्रम छ। भ्रमणका क्रममा प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरूको टोली मंसिर ६ गते नयाँदिल्ली प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी मंसिर ७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
भ्रमणका अवसरमा मंसिर ६ गते साँझ ६ः४० बजे नेपाल–भारत बिजनेस फोरम आयोजना हुँदैछ। उक्त कार्यक्रममा बिजनेस डेलिगेसनका सदस्यहरू सहभागी हुनेछन्। कार्यक्रमको आयोजना स्थल भने पत्रमा खुलाइएको छैन।
परराष्ट्र मन्त्रालयले बिजनेस फोरमलाई ध्यानमा राख्दै आफ्नो हवाई उडान तालिका तथा होटल व्यवस्थापन समयमै सुनिश्चित गर्न पनि मनोनीत सदस्य थापालाई अनुरोध गरेको छ।
नेपाल र भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना हुने बिजनेस फोरममा दुई देशका व्यवसायीबीच लगानी, व्यापार तथा व्यावसायिक सहकार्यका सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्