Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

भारतीय उद्योगीसँग लगानी संवाद गर्दै अर्थमन्त्री, साथमा पाँच दर्जन बढी निजी व्यवसायी

भारतीय उद्योगीसँग लगानी संवाद गर्दै अर्थमन्त्री, साथमा पाँच दर्जन बढी निजी व्यवसायी
परराष्ट्रमन्त्रीसँगै भारत जानुअघि विमानस्थलमा अर्थमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको दुईदिने राजकीय भारत भ्रमणमा सहभागी भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले पनि उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलमा सहभागी भएका हुन्। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै आर्थिक साझेदारी, व्यापार विस्तार र नेपालमा भारतीय लगानी आकर्षित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले दुई देशबीच हुने उच्चस्तरीय बैठक तथा छलफलमा नेपाल सरकारको दोस्रो वरीयताका प्रतिनिधिका रूपमा सहभागिता जनाउनेछन्। भ्रमणको महत्वपूर्ण कार्यसूचीका रूपमा रहेको नेपाल–भारत निजी क्षेत्रको व्यावसायिक छलफलमा पनि उनले नेपालको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्। आइतबार साँझ नयाँदिल्लीस्थित ताजमहल होटलमा आयोजना हुने नेपाल–भारत बिजनेस राउन्डटेबल तथा रात्रिभोज कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुख्य मन्तव्य दिनेछन्। कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले विशेष मन्तव्य राख्ने कार्यक्रम छ।

५२ नेपाली उद्योगी–व्यवसायीको सहभागिता

प्रधानमन्त्री शाहको भारत भ्रमणमा नेपालको निजी क्षेत्रबाट ५२ जना उद्योगी–व्यवसायी सहभागी छन् । प्रतिनिधिमण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललगायत सहभागी छन्।

त्यसैगरी, ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन, होटल, हस्तकला, अटोमोबाइल, औषधि उत्पादन, तयारी पोशाक, कफी, गलैँचा, पूँजी बजार तथा निर्यात व्यापार क्षेत्रका प्रतिनिधिहरू पनि भ्रमण टोलीमा छन्। निजी क्षेत्रबाट सहभागी हुने अन्य प्रमुख व्यवसायीमा सचिन ढकाल, नितेश मालपानी, कल्याण गुरुङ, जीवनाथ लामिछाने, यमुना श्रेष्ठ, विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, दीपक थापा, अनुप आचार्य, नरेश दास, सञ्जय काफ्ले र निकोलस पाण्डेलगायत छन्। निजी क्षेत्रका प्रतिनिधिहरूले भ्रमणका क्रममा आफ्नो हवाई टिकट तथा होटल खर्च आफैँ बेहोर्नेछन् ।

भारतीय उद्योगी तथा लगानीकर्तासँग प्रत्यक्ष संवाद

नेपालमा भारतीय लगानी विस्तार गर्ने उद्देश्यसहित आयोजना हुन लागेको बिजनेस राउन्डटेबलमा भारतीय उद्योग परिसंघर नेपाल उद्योग वाणिज्य महासंघ संयुक्त आयोजकका रूपमा रहेका छन्। कार्यक्रममा भारतीय उद्योग परिसंघको अन्तर्राष्ट्रिय परिषद्का सहअध्यक्ष तथा सन इन्टरनेसनल लिमिटेडका अध्यक्ष विक्रमजित सिंह साहनी प्रमुख भारतीय व्यावसायिक प्रतिनिधिका रूपमा सहभागी हुनेछन्। नेपालका तर्फबाट महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा तथा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले पनि धारणा राख्ने कार्यक्रम छ।

भारतीय निजी क्षेत्रका प्रतिनिधि तथा सम्भावित लगानीकर्तासँग नेपालको लगानी वातावरण, व्यावसायिक सम्भावना, नीतिगत व्यवस्था र प्रतिफलका अवसरबारे छलफल हुनेछ। विशेषगरी जलविद्युत् तथा ऊर्जा, पूर्वाधार निर्माण, पर्यटन, उत्पादनमूलक उद्योग, सूचना प्रविधि, औषधि उत्पादन, कृषि प्रशोधन र निर्यातमुखी उद्योगमा भारतीय लगानी आकर्षित गर्ने विषयलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ। नेपालले भारतीय बजारको निकटता, जलविद्युत्को सम्भावना, प्राकृतिक स्रोत, युवा जनशक्ति र क्षेत्रीय व्यापारिक पहुँचलाई लगानीका आधारका रूपमा प्रस्तुत गर्ने अवसर पाउनेछ। यद्यपि, राउन्डटेबलमा भारतीय सरकारका कुनै मन्त्री सहभागी हुने कार्यक्रम छैन।

लगानी प्रतिबद्धतालाई वास्तविक परियोजनामा रूपान्तरण गर्ने चुनौती

नेपाल र भारतबीच लामो समयदेखि व्यापारिक तथा आर्थिक सम्बन्ध रहे पनि नेपालमा भारतीय लगानीको सम्भावनालाई अपेक्षित रूपमा उपयोग गर्न नसकिएको विषय उठ्दै आएको छ। यस्तो अवस्थामा प्रधानमन्त्रीको राजकीय भ्रमणसँगै निजी क्षेत्रको ठूलो प्रतिनिधिमण्डलको सहभागिताले लगानीसम्बन्धी छलफललाई व्यावहारिक तहमा पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।अर्थमन्त्री वाग्लेका लागि पनि यो भ्रमण भारतीय लगानीकर्तासमक्ष नेपालको आर्थिक सुधारको दिशा, लगानीमैत्री वातावरण र सरकारको आर्थिक प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर हुनेछ। भ्रमणबाट हुने छलफललाई वास्तविक लगानी प्रतिबद्धता, संयुक्त उद्यम, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनासँग जोड्न सकिएमा नेपाल–भारत आर्थिक सम्बन्धमा नयाँ आयाम थपिन सक्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit