काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकालले आठ खेल खेलेर १७ विकेट लिए। यही प्रदर्शनले उनलाई प्रतियोगिताको सर्वाधिक विकेटकर्ता मात्र बनाएन लाखौं रुपैयाँ मूल्य पर्ने दुई सवारीसाधन समेत दिलाएको छ।
ढकालले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडाको जेको जे–फाइभ प्रो कार जिते। यसको बजार मूल्य ४८ लाख रुपैयाँ तोकिएको छ। यस्तै, उत्कृष्ट बलर घोषित भएपछि उनले बजाज पल्सर मोटरसाइकलसमेत प्राप्त गरे। सर्वाधिक विकेट लिएका उनले दुई लाख रुपैयाँ नगद पुरस्कारसहित गोल्डेन क्याप पनि आफ्नो नाममा राखेका छन् ।
ढकालको यो उपलब्धि संयोगमा आधारित थिएन। उनले आठ खेलमा २७ ओभर बलिङ गर्दै १६८ रन खर्चिएर १७ विकेट लिएका थिए। उनको बलिङ औसत ९.८८ र इकोनोमी ६.२२ रह्यो। अर्थात् उनले प्रत्येक विकेट लिन औसतमा ९.८८ रन खर्चिए भने प्रतिओभर ६.२२ रन मात्रै दिए। उनको बलिङ स्ट्राइक रेट ९.५२ थियो। उनको प्रदर्शन निर्णायक खेलमा अझ प्रभावकारी देखियो। पोखरा एभेन्जर्सविरुद्ध २४ रन दिएर चार विकेट लिएका ढकालले काठमाडौं गोर्खाजविरुद्धको महत्वपूर्ण एलिमिनेटर खेलमा १६ रन खर्चेर चार विकेट लिए। एलिमिनेटरको यही प्रदर्शनले चितवनलाई दोस्रो क्वालिफायरसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्यो। दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध उनले थप एक विकेट निकालेका थिए।
प्रतियोगितामा दोस्रो सर्वाधिक विकेट लिने स्कट कुग्गेलिनले १५ विकेट लिए। ढकालले उनीभन्दा दुई विकेट बढी लिएका थिए। चितवन फाइनल पुग्न नसकेर दोस्रो क्वालिफायरबाट बाहिरिए पनि व्यक्तिगत रुपमा ढकालले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको सबैभन्दा ठूला व्यक्तिगत पुरस्कार सुरक्षित गर्न सफल बने । यसको आर्थिक पक्ष पनि रोचक छ। फ्रेन्चाइज क्रिकेटमा खेलाडीको प्रदर्शन अब मैदानको नतिजामा मात्रै सीमित छैन्। कार र मोटरसाइकलजस्ता पुरस्कारले खेलाडीलाई प्रत्यक्ष आर्थिक लाभ दिन्छन् भने प्रायोजक कम्पनीलाई लाखौं दर्शकमाझ आफ्नो ब्रान्ड स्थापित गर्ने अवसर दिन्छन्। खेलाडीको सफलतासँग सवारीसाधनको ब्रान्ड जोडिँदा त्यसको प्रचारात्मक मूल्यसमेत बढ्छ।
एनपीएलमा ब्याटिङतर्फ पनि व्यक्तिगत रुपमा विराटनगर किङ्सका लोकेश बम उत्कृष्ट नेपाली ब्याटर बनेर पल्सर मोटरसाइकल जित्न सफल भए। उनले सात खेलमा २४२ रन बनाए। पोखरा एभेन्जर्सका युवराज सामरा भने चार खेलमै २९४ रन जोड्दै प्रतियोगिताका सर्वाधिक रनकर्ता बने। जनकपुरका राहुल यादवले इमर्जिङ प्लेयर बन्दै पल्सर मोटरसाइकल पाए । दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल हुँदै रिजन ढकालसम्म आइपुग्दा एनपीएलमा कार जित्ने खेलाडीको सूचीमा ब्याटरसँगै नेपाली बलरले समेत स्थान बनाएका छन् । यसले एनपीएलमा व्यक्तिगत प्रदर्शनको व्यावसायिक मूल्य समेत बढ्दै गएको देखाएको छ। फ्रेन्चाइज क्रिकेटमा खेलाडीको विकेट र रनको मूल्य टोलीको जित र मैदानको स्कोरबोर्डमा मात्र सीमित नरही नगद, सवारीसाधन र ब्रान्डको बजार पहुँचसम्म विस्तार भइरहेको देखाउँछ। अर्थात्, एनपीएल अब खेल जित्ने प्रतिस्पर्धासँगै खेलाडीको प्रदर्शनलाई व्यावसायिक प्रतिफलमा रूपान्तरण गर्ने बजारसमेत बन्दै गएको छ।















प्रतिक्रिया दिनुहोस्