काठमाडौं। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई नयाँ दिल्लीले दुई देशबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।
प्रधानमन्त्री शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो प्रतिक्रिया दिएका हुन्। जयसवालले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहको भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग गर्ने बताएका छन्। जयसवालले एक्समा लेखेका छन्, ‘यो भ्रमणले भारत र नेपालबीचको चिरस्थायी तथा बहुआयामिक साझेदारीलाई सुदृढ पार्ने अवसर प्रदान गर्दछ।’
प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको भ्रमणका क्रममा सोमबारदुई देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता हुनेछ।
भारतीय विदेश मन्त्रालयका अनुसार वार्तामा विकास सहकार्य, ऊर्जा, कनेक्टिभिटी, व्यापार, जनस्तरको सम्बन्ध तथा प्रविधि, नवप्रवर्तन, स्टार्टअप र खेलकुदलगायतका विषयमा छलफल हुनेछ।भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेट गर्ने कार्यक्रम छ।















प्रतिक्रिया दिनुहोस्