काठमाडौं। युनाइटेड नेचर ईन्टरनेशनल पिस (युनिप) नेपालले मानवीय सेवा र सामाजिक उत्थानका लागि ‘सामाजिक कोष’ स्थापना गरेको छ।
संस्थाका अध्यक्ष भिक्षु राजु लामा पि. कोन्दनको प्रस्तावलाई शनिबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै उक्त कोषको विधिवत सुरुवात भएको हो।
सामाजिक कोष स्थापनासँगै व्यक्तिगत रुपमा अध्यक्ष लामाले एक लाख र वरिष्ठ उपाध्यक्ष रविराज शाहीले ९५ हजार रुपैयाँ कोषमा दाखिला गर्ने घोषणा गरेका छन् । यसैगरी, कोषमा संस्थाका सदस्यहरुले ३ लाख ४० हजार ५ सय रुपैयाँ योगदान गरेका छन्। सदस्यहरुले वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा योगदान गर्नेछन् ।
अध्यक्ष लामाले उक्त रकमलाई दैवी प्रकोपका बेलामा हुने विपद, बालबालिका, ज्येष्ठ नागरिकको स्वास्थ्य, शिक्षा, विपन्न एवम् सिमान्तकृतको उत्थानका लागि प्रयोग गरिने जानकारी दिए ।
साथै, वरिष्ठ उपाध्यक्ष शाहीले कोष स्थापनासँगै संस्थाले सामाजिक गतिविधिहरुलाई अझ बढाएर लैजाने धारणा राखे । त्यस्तै संस्थाका प्रेस संयोजक सरोज ओझाले विश्व शान्ति तथा मानव अधिकार प्रवद्र्धनका लागि युनिप नेपालले अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा खेलकुद संयोजक दिपक राज शाही, आर्थिक संयोजक मन्जु श्रेष्ठ लगायतले भावी संस्थाको कार्ययोजनाबारे जानकारी गराएका थिए ।















प्रतिक्रिया दिनुहोस्