ललितपुर। पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) कलेजले स्टार्टअप व्यवसाय सुरु गर्न चाहने आफ्ना विद्यार्थीलाई बीउ पुँजी उपलब्ध गराउने भएको छ।
कलेजको दीक्षान्त समारोहका अवसरमा एलबीईएफ ग्रुपका अध्यक्ष पंकज कुमार जालानले युवा उद्यमशीलता विकासका लागि उत्कृष्ट परियोजनाका आधारमा विद्यार्थीलाई बीउ पुँजी उपलब्ध गराइने जानकारी दिएका हुन् ।
कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ बीएस्सी २०२५ तथा सफ्टवेयर इन्जिनियरिङ बीएस्सी २०२६ तर्फका दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै अध्यक्ष जालानले कलेजमा युवा उद्यमशीलता विकास कार्यक्रम सुरु गरिएको बताए । उनले विद्यार्थीलाई आफ्नै व्यवसायिक सोच कार्यान्वयन गर्न आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले बीउ पुँजीको अवधारणा अघि सारिएको जानकारी दिए।
नेपाली विश्वविद्यालयबाट प्रमाणपत्र लिएपछि विदेश जानुपर्छ भन्ने मान्यतालाई परिवर्तन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन स्टार्टअप पुँजीको अवधारणा अघि सारेको उनको भनाइ छ।
अध्यक्ष जालानका अनुसार पीसीपीएसबाट दीक्षित विद्यार्थीले आफ्नो व्यवसायिक परियोजनाका आधारमा कलेजबाट बीउ पुँजी प्राप्त गर्नुका साथै आवश्यक प्राविधिक सहयोगसमेत पाउनेछन्। बेलायतको बेडफर्डशायर विश्वविद्यालयसँग आबद्ध पीसीपीएस कलेजले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउँदै आएको जनाएको छ।
यसैबीच, काठमाडौंमा मंगलबार आयोजित दीक्षान्त समारोहमा कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ बीएस्सी २०२५ का ३२ जना र सफ्टवेयर इन्जिनियरिङ बीएस्सी २०२६ का २५ जना गरी कुल ५७ जना विद्यार्थी दीक्षित भएका छन्।
सन् २०१७ मा स्थापना भएको पीसीपीएस कलेजले आफूलाई मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सफल भएको अध्यक्ष जालानले बताउनुभयो। नेपाली विद्यार्थीलाई स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रभावकारी रूपमा प्रदान गर्ने लक्ष्यमा कलेज सफल हुँदै गएको उनको भनाइ थियो।
कार्यक्रममा एलबीईएफ ग्रुपका कार्यकारी निर्देशक प्रकाश कजेरिवालले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको बताए । त्यस्तै, बेलायतको बेडफर्डशायर विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु चर्चले पीसीपीएससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।















प्रतिक्रिया दिनुहोस्