काठमाडौं । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सवा १ खर्ब रुपैयाँ बढीको थप शेयर सूचीकृत भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय तथ्याङ्क अनुसार पुँजी बजारमा उल्लेख्य मात्रामा नयाँ धितोपत्र थपिएका हुन्। पछिल्लो नौ महिनामा १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरको थप शेयर सूचीकृत भएको छ।
सूचीकृत शेयरमा सबैभन्दा धेर आईपीओ र बोनसको हिस्सा रहेको छ । समीक्षा अवधिमा सूचीकृत भएको कुल १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँमध्ये सबैभन्दा ठूलो हिस्सा साधारण शेयर (आईपीओ) र बोनस शेयरको रहेको छ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार साधारण शेयर ४५ अर्ब ५४ करोड, बोनस शेयर ३९ अर्ब ८९ करोड, म्युचुअल फन्ड २७ अर्ब ५० करोड, हकप्रद शेयर ९ अर्ब ६४ करोड डिबेन्चर, ३ अर्ब ४५ करोड, एफपीओ ९७ करोड १७ लाख र अन्य २ करोड २९ लाख रुपैयाँ रहेको छ।
यसैगरी, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यस अवधिमा कुल ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ। यसमा सबैभन्दा बढी २७ अर्ब २३ करोडको म्युचुअल फण्ड र ९ अर्ब १२ करोडको आईपीओ जारी गर्न अनुमति दिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
यस्तै, चैत मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २९४ वटा पुगेको छ। समुहगत रुपमा हेर्दा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको बाहुल्यता बढी छ। सूचीकृत कम्पनी मध्ये बैंक, वित्तीय संस्था र बीमा तर्फ १३३, जलविद्युत १०३, उत्पादन तथा प्रशोधन २८, होटल ९, लगानी ७, व्यापारिक संस्था ४ र अन्य १० वटा रहेको छ।
कुल बजार पुँजीकरणमा बैंक तथा वित्तीय क्षेत्रले आधाभन्दा बढी हिस्सा ओगटेका छन्। बैंक, वित्तीय संस्था र बीमा ५०.२ प्रतिशत, जलविद्युत १७.८, उत्पादन तथा प्रशोधन ८.८, अन्य समूह ८.५, लगानी कम्पनीको ७, व्यापारिक संस्थाका ४.४ र होटलको हिस्सा ३.३ प्रतिशत रहेको छ ।
चैत मसान्तसम्ममा नेप्सेमा सूचीकृत ९ अर्ब ४८ करोड शेयरको कुल चुक्ता मूल्य ९ खर्ब ३३ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ। यसले नेपाली पुँजी बजारको आकार क्रमशः विस्तार हुँदै गएको सकारात्मक संकेत गरेको छ ।
















प्रतिक्रिया दिनुहोस्