काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामीरिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई दिँदै उच्च सम्मान व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरुको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन् । ‘विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो’ प्रधानमन्त्रीले लेखेका छन्,‘यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्।’
कामीरिताले आज बिहान १०ः१२ बजे सगरमाथाको ३२औँ पटक र माउन्टेन क्विनका रूपमा परिचित लाक्पाले शेर्पाले आजै बिहान ९ः३० बजे ११औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन् । निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासनले मात्र उक्त सफलता हाँसिल हुने उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु।’ कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुने प्रधानमन्त्रीको बुझाइ छ ।
नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको उनको भनाइ छ । हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पु¥याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहने बताएका छन्।

















प्रतिक्रिया दिनुहोस्