काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानिको आधारमा नभई देशको दीर्घकालीन हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक छलफलमा बोल्दै सभापति थापाले कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति बनेको पार्टी नभएको स्पष्ट पारे ।
सभापति थापाले कांग्रेस चुनाव जित्दा, हार्दा वा सहभागी नहुँदा पनि सधैँ राष्ट्रिय शक्ति नै रहने दाबी गरे । ‘नेपाली कांग्रेसले हेडलाइनमा के निस्क्यो भनेर त्यसलाई पछ्याउँदै हिँड्ने होइन। राष्ट्रिय राजनीतिमा उठेका विषयमा केवल प्रतिक्रिया दिने मात्र होइन, देशलाई स्पष्ट दिशा निर्देशन दिने सामर्थ्य हामीले राख्नुपर्छ।’
यस्तै, उनले सरकारसँग शक्ति भए पनि त्यसको सीमा संविधानले कोरिदिएको उल्लेख गर्दै कानुन निर्माण गर्दा पनि संविधानको मर्म र उद्देश्यलाई बिर्सन नहुनेमा जोड दिए । उनले भने, ‘चुनावबाट जितेर आएको सरकासँग शक्ति हुन्छ तर त्यो शक्तिको पनि सीमा हुन्छ । संविधानले सीमाहरु कोरिदिएको हुन्छ । कानुन बनाउन पाउने उसको अधिकार हुन्छ तर कानुन पनि के मा बनाउने र के का लागि बनाउने भन्ने कुरा पनि परिभाषित भएको हुन्छ ।’
पार्टीभित्रको आन्तरिक व्यवस्थापनका सन्दर्भमा थापाले १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल सक्रिय भूमिकामा नरहेका नेताहरूलाई सम्मानजनक जिम्मेवारीसहित समेट्ने प्रस्ताव समेत गरे ।
‘वरिष्ठ नेता बनाउनुपर्नेलाई सोही पद र अन्यलाई उपयुक्त जिम्मेवारी दिएर अघि बढ्न म तयार छु’ उनले भने,‘पार्टीलाई संगठनभित्र मात्र सीमित नराखी समाजमुखी बनाउनुपर्छ।’पार्टीको ध्यान केवल कार्यालय र बैठकमा मात्र नभएर समाजको सेवामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
यस्तै, महामन्त्री प्रदीप पौडेलले कांग्रेस अन्य दलभन्दा वैचारिक रूपमा फरक र स्पष्ट हुनुपर्ने धारणा राखे । पौडेलले कांग्रेस शान्तिपूर्ण परिवर्तनको पक्षमा उभिनुपर्ने र जनताले उठाएका प्रश्नहरूको जवाफ दिन सक्ने गरी तयार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो मुख्य हतियार विचार नै हो। कांग्रेसलाई वैचारिक रूपमा अझ धारिलो बनाउन लोकतान्त्रिक विचार बोक्ने सबै पक्षसँग निरन्तर संवाद आवश्यक छ।’
कार्यक्रममा अन्य वक्ताहरूले वर्तमान राजनीतिक तरल अवस्थामा कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्नुपर्ने धारणा राखेका थिए।

















प्रतिक्रिया दिनुहोस्